धनगढी, मंसिर २५ । बर्दियाको राजापुरमा भएको चर्चित गोलीकाण्डका मुख्य आरोपी कैलालीबाट पक्राउ परेका छन्। दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ५१ वर्षीय महावीर चौधरीलाई बर्दिया र कैलाली प्रहरीको संयुक्त टोलीले कैलारी गाउँपालिका–२ बाट नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको साथबाट एउटा पेस्तोल समेत बरामद गरेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका निरीक्षक कैलाशसिंह बिष्टका अनुसार पक्राउ परेका महावीर चौधरी हमार थारू रेस्टुरेन्ट, राजापुर नगरपालिका–४ मा गत आइतबार घटेको हत्या प्रकरणका मुख्य अभियुक्त हुन्। उक्त घटनामा दाङ तुलसीपुर–६ का २८ वर्षीय निरज चौधरीको गोली लागेर मृत्यु भएको थियो।
प्रहरीका अनुसार निरज र महावीरबीच लामो समयदेखि आर्थिक लेनदेनका विषयमा विवाद हुँदै आएको थियो। सोही विवादको चर्को रुप लिएपछि आवेगमा आएर महावीरले निरजमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानले संकेत गरेको बर्दिया प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका महावीरलाई सुरक्षा निकायले पछ्याउँदै आएको थियो। समन्वित अनुसन्धान र खोजीपछि उनलाई कैलाली क्षेत्रबाट पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ।
पक्राउ परेका महावीरलाई आवश्यक अनुसन्धानका लागि बर्दिया लगिने प्रहरीले जानकारी दिएको छ।
राजापुरमा भएको गोलीकाण्डले स्थानीयबासी त्रसित बनेका थिए। हत्या आरोपित पक्राउ परेसँगै घटनाको विस्तृत अनुसन्धान तीव्र बनाइएको प्रहरीले जनाएको छ।




