जनकपुरधाम, मंसिर २५ । मधेश राजनीतिमा सक्रिय तीन दल—महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा वृषेशचन्द्र लाल नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टीबीच पार्टी एकीकरण हुने भएको छ ।
तीन दलका शीर्ष नेताहरूबीच बुधवार भएको छलफलपछि संयुक्त विज्ञप्तिमा जारी गर्दै पार्टी एकताको लागि सहमत भएको जनाएका छन ।
देशमा बढ्दै गएको राजनीतिक अनिश्चितता, भ्रष्टाचार, बेथिति र सुशासनको अभाव अन्त्य गर्न राष्ट्रिय पुनर्संरचनाको आवश्यकता रहेको उल्लेख गर्दै तीन वटै दल ताजा जनादेशसहितको आम निर्वाचन नै वर्तमान परिस्थितिको मुख्य समाधान हो भन्ने साझा निष्कर्षमा पुगेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘समान अधिकार, राज्यका सबै तहमा समानुपातिक समावेशिता र विविधताको सम्मान सुनिश्चित गर्न तथा संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता मजबुत बनाउन सिमान्तिकरणमा पारिएका समुदायहरूको विस्तृत राजनीतिक शक्ति निर्माण आवश्यक छ। यही आवश्यकता मनन गर्दै तीनै पार्टी एकजुट हुँदै एकीकृत हुने निर्णय गरेका छौं।’
एकीकरणको उद्देश्य मधेस, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्ग तथा सिमान्तिकृत समुदायहरूको साझा आवाजलाई सशक्त बनाउने रहेको छ। नयाँ एकीकृत संरचनाले मधेश–केन्द्रित राजनीतिक एजेन्डालाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउने नेतृत्व दिने अपेक्षा दलहरूले व्यक्त गरेका छन्।
तीन दलले मधेशदेखि राष्ट्रीय स्तरसम्म विभाजित रूपमा रहेका समान विचारका राजनीतिक शक्ति, सामाजिक अगुवाहरू तथा जनप्रतिनिधिहरूलाई पनि एउटै मोर्चामा गोलबद्ध हुन आग्रह गरेका छन्। दलहरूको भनाइ अनुसार, व्यापक एकता मार्फत मधेशको राजनीतिक प्रभावकारिता बढ्ने र राज्य संरचनामा समावेशी सहभागिता सुनिश्चित गर्न नयाँ ताकत निर्माण हुनेछ।




