काठमाडौं, मंसिर २४। अमेरिकाले आर्थिक हैसियत बलियो भएका धनी व्यक्तिहरूका लागि विशेष सुविधा सहितको ‘गोल्ड कार्ड’ भिसा योजना सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १० लाख डलर तिर्न सक्ने विदेशी नागरिकलाई ‘फास्ट–ट्रयाक’ प्रक्रियाबाट भिसा दिने घोषणा गरेका हुन्।
बुधबार सामाजिक सञ्जालमार्फत ट्रम्पले भने, “यो कार्डले योग्य र परीक्षण गरिएका व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा नागरिकतासम्मको बाटो खोलिदिन्छ।” बिबिसीका अनुसार ‘गोल्ड कार्ड’ त्यस्ता व्यक्तिलाई लक्षित गरिएको छ, जसले अमेरिकालाई आर्थिक, व्यावसायिक वा रणनीतिक रूपमा महत्त्वपूर्ण लाभ पुर्याउन सक्छन्।
यस योजनाले ‘रेकर्ड समयमै’ अमेरिकी बसोबासको व्यवस्था हुने दाबी गरिएको छ।
व्यक्तिगत आवेदक : १० लाख डलर
कर्मचारी स्पोन्सर गर्ने व्यवसायी : २० लाख डलर
(थप प्रक्रिया शुल्क छुट्टै लाग्नेछ)
यस्तै, ५० लाख डलर तिर्नेहरूका लागि कर छुटसहितको ‘प्ल्याटिनम’ संस्करण पनि तयारीमा रहेको ट्रम्प प्रशासनले जनाएको छ।
यसको आलोचना पनि भैरहेको छ। केही डेमोक्र्याट नेताहरूका अनुसार यो योजना केवल धनी व्यक्तिलाई मात्र फाइदा पुर्याउने गरी डिजाइन गरिएको छ। ट्रम्पले भने अमेरिकी रोजगारी सिर्जना गर्न सक्ने लगानीकर्तालाई प्राथमिकता दिइएको बताएका छन्।
ट्रम्प प्रशासन यतिबेला अध्यागमन नीतिमा कडाइ गर्दै आएको छ। कामदार भिसा शुल्क वृद्धि, कागजातविहीन आप्रवासीमाथि कारबाही र केही अफ्रिकी तथा मध्यपूर्वका देशका नागरिकको आवेदन रोकिएको छ। आश्रयसम्बन्धी बाइडेन प्रशासनले स्वीकृत गरेका निर्णयहरू पनि पुनः समीक्षा हुँदैछन्।
यसअघि सेप्टेम्बरमा दक्ष कामदारका लागि एच–१बी भिसामा १ लाख डलर शुल्क लिने आदेशपछि विदेशी विद्यार्थी र प्रविधि क्षेत्रमा काम गर्नेहरूमा व्यापक चिन्ता फैलिएको थियो। पछि ह्वाइट हाउसले यो शुल्क अमेरिकाबाहिरका नयाँ आवेदकका लागि मात्र लागू हुने स्पष्ट पारेको थियो।




