एजेन्सी, मंसिर २६ । भारतका सामाजिक अभियन्ता तथा गाँधीवादी विचारधाराका समर्थक अन्ना हजारे फेरि एक पटक आमरण अनशनमा बस्ने भएका छन्। ८८ वर्षको उमेरमा उनले ३० जनवरीदेखि भूख हड्ताल सुरु गर्ने घोषणा गरेका छन्।
अन्नाले महाराष्ट्रमा लोकायुक्त कानून अझै कार्यान्वयन नहुँदा असन्तुष्टि व्यक्त गर्दै यसपटकको आन्दोलनलाई अन्तिम चेतावनी भनेका छन्। यो निर्णय महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीस नेतृत्वको सरकारका लागि अन्नाको अन्तिम अल्टिमेटमको रूपमा हेरिएको छ।
अहमदनगरको रालेगणसिद्धीमा पत्रकारहरूसँग कुरा गर्दै हजारेले भने, “२०२२ मा गरिएको वाचा अनुसार आजसम्म लोकायुक्त कानून लागू भएको छैन। मैले फडणवीसलाई ७ पटक पत्र लेखें, तर कुनै प्रतिक्रिया पाएँ । अब निर्णायक लडाइँ चलाउनुको विकल्प छैन।”
उनका अनुसार २०२२ मा पनि यिनै मागसहित उनले अनशन गरेका थिए। त्यतिबेला तत्कालीन मुख्यमन्त्री फडणवीस र केन्द्रीय कृषि मन्त्रीको हस्तक्षेपपछि अनशन स्थगित गरिएको थियो। त्यसपछि समिति गठन गरी कानूनको मस्यौदा तयार गरी दुवै सदनबाट पारित गरिएको र राष्ट्रपति कार्यालय पठाइएको थियो। तर, कानून आजसम्म लागू भएको छैन।
“सरकार जनताका लागि हो, देखावटीका लागि होइन” हजारेले भने, “सरकार जनताको भलोका लागि हुन्छ, केवल देखावटीका लागि होइन। लोकायुक्त कानून भ्रष्टाचार रोक्न र जनताको हितका लागि अत्यन्त आवश्यक छ। त्यसैले ३० जनवरीदेखि म फेरि अनशन बस्नेछु।”
अन्ना हजारेको यो आन्दोलनलाई भारतमा पुनः सुशासन र पारदर्शिताको बहसलाई बलियो बनाउने संकेतको रूपमा हेरिएको छ।






