काठमाडौं ,मंसिर २६ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक गरेको छ। सो नीति आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति समावेश गरिएको सशस्त्र प्रहरीका सूचना अधिकारी तथा प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए।
उनका अनुसार, निर्वाचनका सबै चरण सुरक्षात्मक दृष्टिले संवेदनशील रहेका कारण सशस्त्र प्रहरीले विगतका अनुभव र वर्तमान सुरक्षा चुनौतीलाई ध्यानमा राखेर विस्तृत तयारी गरेको छ। विशेषगरी जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार तथा कारागारबाट फरार कैदीबन्दी अझै नियन्त्रणमा नआएकाले यो निर्वाचन अघिल्लाभन्दा बढी चुनौतीपूर्ण हुने मूल्यांकन गरिएको छ।
परिचालन नीतिअनुसार, निर्वाचन मिति भन्दा एक महिना पहिले नै निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गरिनेछ। सुरक्षा बेस स्थापनासँगै संबंधित क्षेत्रका सम्भावित जोखिमको विश्लेषण, अनुगमन तथा तत्काल प्रतिक्रिया रणनीति लागू गरिने प्रवक्ता थापाले बताए। त्यसैगरी, स्ट्राइकिङ र मोबाइल टोली भने १५ दिनअघि देखि नै परिचालनमा रहनेछ। यी टोलीहरू सम्भावित जोखिम भएका क्षेत्र, मतगन्ती केन्द्र तथा मतपेटिका ढुवानी मार्गमा सक्रिय रहनेछन्।
सशस्त्र प्रहरी बलले मतदाता, उम्मेदवार, कर्मचारी तथा सरोकारवालाहरू निडर भएर निर्वाचनमा सहभागी हुन सक्ने वातावरण बनाउने तयारी गरेको छ। “आम नागरिकले निश्चिन्त वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न सकून् भन्ने उद्देश्यले नीति तयार पारिएको हो,” डीआईजी थापाले भने।
सशस्त्र प्रहरीले आगामी दिनहरूमा मन्त्रालय, सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गर्दै निश्चित योजना, संसाधन परिचालन र जोखिम व्यवस्थापन सम्बन्धी विस्तृत कार्ययोजना लागू गर्ने जनाएको छ।




