मधेश सरकारको विश्वासको मतमा संशय कायमै, आज सत्तागठबन्धनको बैठक बस्ने



जनकपुरधाम, मंसिर २६ । सरकार गठनको एक साता भित्रै विश्वासको मत लिने तैयारी गरेका कृष्णा यादव सरकारलाई विश्वासको मतमा संशय उत्पन्न भएको छ।

मंसिर २१ गते सपथ ग्रहण गरेको मुख्यमन्त्री यादव शुरुमा २४ गते नै विश्वासको मत लिने घोषणा गरेका थिए । मुख्यमन्त्री संगै सबै दलबाट मन्त्रीको समेत सपथ ग्रहण गराउने तयारी गरेको मुख्यमन्त्री यादव मन्त्रालयको भागवण्डा नमिलेका कारण जनमत ,नेकपा एस र काँग्रेसका एकजना मन्त्रीलाई मात्र सपथ खुवाउन बाध्य भएका थिए ।

मुख्यमन्त्रीको सपथको दिन जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा माओवादीले मन्त्रीको नाम नपठाएपछि गठबन्धन भित्र खटपट शुरु भएको अनुमान राजनीति वृतमा शुरु भएको थियो । तर गठबन्धन आवद्ध दलका नेताहरुले भने समय आभावमा मन्त्री पठाउन नसकेको भन्दै राजनीतिक वृतको अनुमानलाई त्यतिबेलै खण्डन गरेका थिए ।

मुख्यमन्त्रीको सपथ पछि विश्वासको मतको तिथि अनौपचारिक रुपमा पटक पटक तय भएपनि हालसम्म सपथको औपचारिक निर्णय हुन नसक्नुले गठबन्धन भित्र खटपट कायमै रहेको सहजै अनुमान गर्न सकिन्छ ।

शुरुमा मंसिर २४ गते विश्वासको मत लिने घोषणा गरेका मुख्यमन्त्री यादव २४ गते विश्वासको मत लिन नसकेपछि २७ गते लिने जनाएको थियो । तर नेकपा एमालेको अधिवेशन २७ गते बाटै शुरु हुने भएको सो मिति समेत कार्यान्वयन हुन सकेको छैन ।

एमालेको महाधिवेशनका कारण २७ गते विश्वासको मत लिन नसक्ने सत्तारुढ गठबन्धनले जनाएपनि गठबन्धन भित्रै सभामुख र मन्त्रीहरुको भागवण्डा नमिलेका कारण औपचारिक रुपमा विश्वासको मत लिने मिति तय हुन नसकेको गठबन्धन आवद्ध दलकै नेताहरुले बताउन थालेका छन ।

सरकार गठनको सहमति हुँदा नेपाली कँग्रेसले मुख्यमन्त्री सहित २ मन्त्रालय, जसपा नेपालले सभामुख सहित २ मन्त्रालय , नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी सम्मिलत नेकपाले ३ मन्त्रालय, जनमतले २ मन्त्रालय र लोसपाले २ मन्त्रालय पाउने औपचारिक सहमति भएको थियो ।

मुख्य मन्त्रालयहरुमा अर्थमन्त्रालय जनमत पार्टीले लिई सकेको हुँदा जसपा नेपाल सभामुख सहित भौतिक पूर्वाधार मन्त्रालयमा दावी गर्दै आएको छ । तर नेकपा माओवादी संसदीय दलका नेता भरत साहले भने सभामुखमा दावी गर्दै भौतिक पूर्वाधार मन्त्रालयमा ताक्न खोजेपछि गठबन्धन भित्र किचलो बढेको एक जना नेताले बताएका छन ।

काँग्रेस नेतृत्वको सरकारमा सभामुख र भौतिक मन्त्रालय सहित अन्य एक मन्त्रालय नपाए सरकारमै सहभागी नहुने चेतावनी जसपा नेपालले अनौपचारिक रुपमा दिन थालेपछि गठबन्धन भित्रको किचलो सतहमा आउन थालेको हो ।

यस अघि २ वटा सरकार समेत माओवादी नेता भरत साहकै कारण ढलिसकेको छ । तत्कालिन मुख्यमन्त्री जसपा नेपालका सरोज कुमार यादव नेतृत्वको सरकार ढाल्न भरत साहले भारत बिहारको सुरसण्डमै बैठक गरेको तथ्य सार्वजनिक भएको थियो । त्यसको केही महिना भित्रै सरोज नेतृत्वको सरकार ढलेको थियो ।

त्यस्तै जितेन्द्र सोनल नेतृत्वको सरकार समेत साहकै कारण ढलेको चर्चा बजारमा व्याप्त छ । साह गुपचुप संसदीय दलको नेता बनेपछि कुद्ध भएका रहबर अन्सारी र माला कर्ण विश्वासको मतको विपक्षमा उभेको थियो । अहिलेपनि भरत साहकै कारण गठबन्धनमा खटपट शुरु भएको एक नेताले मधेश टुडेलाई बताएका छन ।

हुनतः सत्ता गठबन्धनको बैठक आजै ११ बजे मधेश भवनमा बस्ने भएको छ । आजको बैठकले भाग बण्डा टुङ्गयाउदै विश्वासको मिति तय गर्ने जनाइएको छ। गठबन्धन भित्र सहमति नबने जसपा नेपाल र लोसपा गठबन्धनबाट बाहिर सक्ने सम्भानवा बढदै गएको छ । हुनतः जसपा र लोसपा गठबन्धनबाट बाहिरिए पनि कृष्णा यादव नेतृत्वको सरकारलाई एमालेले समेत समर्थन जनाउने घोषणा गरि सकेको हुँदा विश्वासको मतमा समस्या नआउने प्रायः निश्चित छ ।

प्रकाशित मिति: २०८२ मंसिर २७, शुक्रवार १०:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको