काठमाडौं, मंसिर २६ । भदौ २३–२४ गते भएको जेन-जी आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचना क्षति भएको सरकारी प्रतिवेदनले जनाएको छ। क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणमा मात्रै ३६ अर्ब ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
आन्दोलनको क्षति मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनअनुसार देशभरका २,१६८ सरकारी तथा सार्वजनिक निकाय प्रभावित भएका छन्।
आन्दोलनबाट सातै प्रदेश, ५४ जिल्ला र २६२ स्थानीय तहमा क्षति पुगेको उल्लेख छ। मानव क्षतिको विवरणमा भदौ २३ मा २०, भदौ २४ मा ३७ र त्यसपछि २० गरी ७७ जनाको मृत्यु भएको छ। घाइते २,४२९ जनामध्ये १७ जना १३ वर्षमुनिका तथा १३ देखि २८ वर्ष उमेर समूहका १,४३३ जना रहेका छन्।
सवारीसाधनमा ठूलो नोक्सानी भएको छ। १२,६५९ सवारीसाधन क्षतिग्रस्त हुँदा करिब १२ अर्ब ९३ करोड ६१ लाख बराबर क्षति भएको छ। त्यसैगरी २,६७१ भवनमा क्षति पुगेको अनुमान ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर छ।
सरकारी÷सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख, निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड ८७ लाख, सामुदायिक तथा अन्य क्षेत्रमा ५ अर्ब ९७ करोड १७ लाखक्षतिको भएको अनुमान गरिएको छ।
सरकारी क्षतिको भारमा संघीय सरकारको ६८ प्रतिशत, प्रदेशको १० प्रतिशत, र स्थानीय तहको २२ प्रतिशत हिस्सेदारी देखाइएको छ।
राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा बनेको समितिले ७५ दिनमा प्रतिवेदन तयार पारेको हो।




