काठमाडौं, मंसिर २६ । नागढुंगा-मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार) खुला रहने भएको छ । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर भइरहेको स्तरोन्नति कार्य नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशनलाई ध्यानमा राख्दै दुई दिनका लागि रोकिएको हो।
नागढुंगा–मुग्लिन सडक योजनाका अनुसार मंसिर २४ देखि पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:३० बजेसम्म सडक बन्द गरेर काम भइरहेको थियो। महाधिवेशनमा भीड बढ्ने अनुमान तथा सडक जामको सम्भावनालाई मध्यनजर गर्दै आज र भोलि बन्द नगरिने निर्णय गरिएको हो।
योजनाका पूर्वी खण्ड प्रमुख केशवप्रसाद ओझाका अनुसार, महाधिवेशनको भीड व्यवस्थापनका लागि दुई दिन सडक खुला राखिनेछ। तर निर्धारित तालिकाअनुसार आइतबारदेखि पुनः दैनिक बन्दको प्रक्रिया यथावत रहनेछ।
बुधबार युवा संघ नेपालको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि सडक खुला गर्न अनुरोध गरेको थियो।
सडक विभागका अनुसार, काठमाडौँ पक्षको नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्रलाई प्राथमिकताका साथ अघि बढाइएको छ। त्यस्तै, धादिङ क्षेत्रमा पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने काम तीव्र रूपमा चलिरहेको छ।




