काठमाडौं ,मंसिर २६ । नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै चार जना नयाँ मन्त्रीको सूची राष्ट्रपति कार्यालयमा पठाएकी छन्। श्रेष्ठसहित चार मन्त्रीको आजै अपराह्न ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
श्रद्धा श्रेष्ठ करिब २० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। उनी पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखका रूपमा कार्यरत थिइन्। यो परियोजना ग्ल्म्ए सँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ र ग्रामीण तथा समुदाय(आधारित पर्यटन प्रवर्द्धनमा केन्द्रित छ।
उनले पर्यटन बोर्डमा ब्रान्ड प्रवर्द्धन र कर्पोरेट पार्टनरसिप व्यवस्थापन गर्दै विभिन्न मुलुकमा नेपालका पर्यटन गन्तव्यको प्रचार(प्रसारमा महत्त्वपूर्ण भूमिका खेलेकी छन्। साथै, डिजिटल अभियान र अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा नेपालको प्रतिनिधित्व पनि गरेकी छन्।
कोभिड महामारीको समयमा उनी पर्यटन संकट समाधान टिमकी मुख्य सदस्य थिइन्। उक्त टिमले महामारीको बेला पर्यटन क्षेत्रको उद्धार, पुनरुत्थान र पुनर्स्थापना कार्यक्रम अघि बढाएको थियो।
श्रेष्ठले अमेरिकाको मिसिगन विश्वविद्यालयबाट विकास अर्थशास्त्र र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर अध्ययन गरेकी छन्। उनी ब्लगर र ब्रान्ड विशेषज्ञ पनि हुन्।
उनको लामो अनुभव, पर्यटन क्षेत्रमा नेतृत्व क्षमता र महिला तथा युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने कामले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नयाँ उर्जा र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




