कम्बोडियासँगको तनावबीच थाइल्यान्डका प्रधानमन्त्रीद्वारा संसद विघटन, ६० दिनभित्र निर्वाचन



काठमाडौं ,मंसिर २६ । थाइल्यान्डका प्रधानमन्त्री अनुपिन चार्न्भिराकुलले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका छन्। केही दिनयता कम्बोडियासँग सीमामा भइरहेको तीव्र तनाव र देशको बढ्दो राजनीतिक अस्थिरताबीच उनले संसद विघटन गरेका हुन्।

अन्तर्राष्ट्रिय मिडिया ‘बीबीसी’ का अनुसार प्रधानमन्त्री अनुपिनले ४५ देखि ६० दिनभित्र निर्वाचन गराउने घोषणा गरेका छन्। तीन महिनाअघि मात्र पदभार सम्हालेका अनुपिनले सीमावर्ती क्षेत्रमा उत्पन्न चुनौती सामना गर्न आफ्नो अल्पमत सरकार असफल देखिएपछि जनताकै हातमा म्यान्डेट फिर्ता दिने निर्णय गरेको बताएका छन्।

शुक्रबार सार्वजनिक सम्बोधनमा उनले भने, “उचित समाधान संसद विघटन नै हो, जसले राजनीतिक शक्तिलाई जनतामा फिर्ता लैजान्छ।”
व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका अनुपिन सन् २०२३ अगस्टमा प्रधानमन्त्री बनेका थिए। सेप्टेम्बरमा उनले जनवरी अन्त्यसम्म संसद विघटन गर्ने संकेत गरेका थिए। हाल अविश्वास प्रस्तावको दबाबका बीच उनले चुनाव समयअघि नै ल्याएका हुन्।

आन्तरिक संकट र सीमा तनावले बढायो दबाब

गत महिना दक्षिणी थाइल्यान्डमा आएको भीषण बाढी व्यवस्थापनमा कमजोरी देखिएको भन्दै सरकारले तीव्र आलोचना खेपेको थियो। त्यो बाढीले कम्तीमा १७६ जनाको मृत्यु गराएको थियो।

संसद विघटनको घोषणा भने कम्बोडियासँग पछिल्लोपटक भएको झडपपछि आएको हो। यो झडपमा २० जनाको मृत्यु भइसकेको छ भने लाखौँ मानिस विस्थापित भएका छन्। सीमामा बढ्दो तनावले देशभित्र सरकारप्रति असन्तुष्टि झनै तीव्र भएको बताइन्छ।

थाइल्यान्ड एक वर्षदेखि राजनीतिक अस्थिरतामा छ, जहाँ यसअघि दुई प्रधानमन्त्रीहरूलाई अदालतले पदच्यूत गरिसकेको थियो। नयाँ निर्वाचनले स्थिरता ल्याउने वा अस्थिरता अझै गहिरिने भन्ने विषयमा अब क्षेत्रीय ध्यान थाइल्यान्डमा केन्द्रीकृत भएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २७, शुक्रवार १२:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको