काठमाडौं , मंसिर २६ । नेकपा (एमाले)को ११औँ महाधिवेशनको अघिल्लो दिन बस्न लागेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीका लागि निकै संवेदनशील र चुनौतीपूर्ण हुने अनुमान गरिएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने निर्णय सार्वजनिक भएपछि पार्टी नेतृत्वभित्र शक्ति समीकरण फेरिएको छ भने आजको बैठकमा दुई मुख्य एजेन्डाले वातावरण झन् पेचिलो बनाएको छ।
ओलीको मुख्य एजेन्डाः विधान संशोधन
अध्यक्ष ओली पदाधिकारी संख्या बढाउने उद्देश्यसहित विधान संशोधनको प्रस्ताव सचिवालयमा ल्याउन तयारी अवस्थामा छन्। भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या १५ मा झारेको थियो। तर ओली निकटका नेताहरू नै धेरै आकांक्षी देखिएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। यही कारण उनले पदाधिकारी संख्या १९ वा २१ सम्म पुर्याउने प्रस्ताव अघि सार्ने तयारी गरेको एमाले स्रोत बताउँछ।
विधान संशोधनसँगै केन्द्रीय सदस्यसंख्या पनि थपिने सम्भावना रहेको छ।
पोखरेल समूहको काउन्टर एजेन्डाः उमेरहद र दुई कार्यकाल
ओलीको प्रस्तावलाई चुनौती दिँदै पोखरेल समूहले बटारिएको दुई एजेन्डा अघि सार्दै छ।
१) विधानमा रहेको ७० वर्षे उमेरहद निरन्तर राख्ने
२) दुई कार्यकाल सीमाको पुनर्स्थापना
पोखरेल समूह पदाधिकारी संख्या बढाउने विषयमा लचिलो देखिए पनि उमेरहद र कार्यकाल सीमा पुनः व्यवस्थित हुनैपर्ने अडानमा रहेको छ। उक्त समूहमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा सचिव द्वय गोकर्ण बिष्ट र योगेश भट्टराई खुलेका छन्।
मनोनित प्रतिनिधि पनि विवादको केन्द्रमा
विधानअनुसार अध्यक्षलाई पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने अधिकार छ, जसअनुसार ओलीले १०८ प्रतिनिधि मनोनित गर्न सक्छन्। यही संख्याले निर्वाचनमा अर्थपूर्ण प्रभाव पार्ने भएकाले यस विषयमा पनि तीव्र रस्साकस्सी हुने अपेक्षा गरिएको छ।
एमालेभित्र वरिष्ठ उपाध्यक्ष पद पुनः कायम गर्ने र आवश्यक परे पोखरेललाई सोही पदमा निरन्तरता दिने सम्भावना स्रोतहरूले बताए पनि पोखरेल समूह त्यसमा सहमत हुने संकेत अहिलेसम्म देखिएको छैन।
सचिवालय बैठक दिउँसो १ बजे बस्दै छ।




