काठमाडौं ,मंसिर २६ । नेकपा एमाले को ११औं महाधिवेशनको माहोल चर्किंदै जाँदा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय आज नेता–कार्यकर्ताको भीडले भरिएको छ। पार्टी प्रचार विभागका अनुसार भोलिदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुने महाधिवेशनका सबै तयारी अन्तिम चरणमा पुगेका छन्।
महाधिवेशन नजिकिँदै गर्दा च्यासल परिसरमा नेताहरूको आगमन बाक्लिँदै गएको छ। च्यासलमै बसेको सचिवालय बैठकमा पनि महाधिवेशनका एजेन्डा, संगठनगत समीक्षा र व्यवस्थापनसम्बन्धी विषयमा छलफल भइरहेको छ।
यसबीच, पार्टी कार्यालयमा आएका अधिकांश एमाले नेताहरू एक विशेष पहिरनमा देखिन थालेका छन्—सूर्य अंकित ढाका टोपी। ढाकाको नेपाली पहिचान र एमालेको चुनाव चिह्न ‘सूर्य’ जोडिएको यो टोपीले महाधिवेशनको उत्साह झनै बढाएको छ। धेरै नेताहरूले ढाका टोपीलाई “एकता र पहिचानको प्रतीक”का रूपमा प्रस्तुत गरेको देखिन्छ।
सल्लाघारीस्थित उद्घाटन स्थलमा करिब १५ हजार सहभागीका लागि कुर्सी राख्ने तयारी भइरहेको छ। पार्टीका अध्यक्ष देउजाका अनुसार उद्घाटन कार्यक्रमलाई प्रविधिमैत्री बनाइनेछ, जसका लागि ध्वनि, प्रकाश, स्टेज आदिको तयारी अन्तिम चरणमा पुगेको छ।
महाधिवेशनको उद्घाटनमा ११औं महाधिवेशनको झण्डा विधिवत् झण्डोतोलन गरिने र इलेक्ट्रिक दियो बालेर कार्यक्रम सुरु गर्ने प्राथमिक योजना छ। तर यससम्बन्धी अन्तिम निर्णय आज बेलुकासम्म हुने सचिवालय स्रोतले जनाएको छ।
भक्तपुरमा हुने यस महाधिवेशनले पार्टी नेतृत्व, संगठन विस्तार र भविष्यको राजनीतिक दिशा–निर्देशनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।




