मनोनीत महाधिवेशन प्रतिनिधिका विषयमा एमालेमा विवाद, नेकपा एसबाट फर्किएकाहरूको विरोध



काठमाडौं, मंसिर २७ । नेकपा (एमाले) भित्र मनोनीत महाधिवेशन प्रतिनिधिको सूचीलाई लिएर विवाद चुलिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिमा नाम तय गर्ने भनिए पनि एकलौटी ढंगले सूची सार्वजनिक गरिएको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले असहमति जनाएको छ। मनोनयन प्रक्रियालाई लिएर पार्टीभित्रै असन्तोष देखिन थालेको छ।

यसैबीच, प्रेस चौतारी नेपालका नेता विश्वमणि सुवेदीले पनि विज्ञप्ति जारी गर्दै मनोनीत प्रतिनिधिको सूचीप्रति कडा आपत्ति जनाएका छन्। उनले एमालेले सञ्चालन गरेको ‘घर फर्क अभियान’ अन्तर्गत महाधिवेशन प्रतिनिधि बनाइएका १८ जनामध्ये केही नामप्रति गम्भीर असन्तुष्टि रहेको उल्लेख गरेका छन्।



सुवेदीका अनुसार पार्टीले तत्कालीन नेकपा ९एकीकृत समाजवादी० मा केन्द्रीय सदस्य रहेका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको थियो। त्यसअनुसार तत्कालीन पार्टीमा केन्द्रीय सदस्य रहेका १३ जना नेताहरू प्रतिनिधि हुनु सकारात्मक भए पनि बाँकी पाँच जना भने केन्द्रीय सदस्य नै नरहेका व्यक्ति रहेको उनको दाबी छ।

‘एउटा विधि तय गरेर त्यसविपरीत निर्णय गर्नु आफैँ स्वीकार्य हुँदैन,’ सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले यसबारे पार्टी नेतृत्वलाई समयमै जानकारी गराइएको भए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरेका छन्।

सुवेदीले थप भनेका छन्, यदि तत्कालीन समाजवादी पार्टीमा केन्द्रीय सदस्य नरहेका व्यक्तिहरू पनि महाधिवेशन प्रतिनिधि बन्ने हो भने समाजवादी प्रेस संगठनबाट प्रेस चौतारीमा फर्किएका नेतृत्व तहका नेताहरू समेत प्रतिनिधिका दाबेदार हुनुपर्ने थियो। तर, प्रेस चौतारीमा फर्किएका कोही पनि प्रतिनिधि नबनाइनु खेदजनक भएको उनको भनाइ छ।

विधि एउटै बनाइए पनि त्यसको कार्यान्वयनमा समानता नदेखिएको भन्दै सुवेदीले असन्तुष्टि जनाएका हुन्। मनोनीत प्रतिनिधिको विषयलाई लिएर देखिएको यो विवादले एमालेको ११औँ महाधिवेशन सुरु हुने दिनमै पार्टीभित्र असहमति सार्वजनिक भएको छ, जसले महाधिवेशनको समग्र वातावरणमा असर पार्ने आँकलन गरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २७, शनिबार १२:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको