राष्ट्रियसभाका पूर्वअध्यक्षदेखि उपत्यकाका जिल्ला अध्यक्षसम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित



काठमाडौं, मंसिर २७ । नेकपा (एमाले) ले मनोनयनमार्फत चयन गरेका १०८ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको छ। मनोनित प्रतिनिधिहरूमा राष्ट्रियसभाका पूर्वअध्यक्षदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला अध्यक्षसम्म समेटिएका छन्।

पार्टीले सोझै मनोनयनबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा अधिकांश अनुहारहरू नेतृत्व नजिकका रहेको देखिन्छ। यस सूचीमा राष्ट्रियसभा तथा प्रतिनिधिसभाका पूर्वअध्यक्ष गणेश तिम्सिनासहित पार्टीभित्र छुटेका केही प्रभावशाली नेताहरूलाई पनि समेटिएको छ।

मनोनित सूचीमा विदेश विभागकी अन्जान शाक्य, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, भक्तपुर जिल्ला अध्यक्ष बच्चन देउजा र काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाको नाम समावेश छ। यस्तै, ललितपुर जिल्ला उपाध्यक्ष मञ्जली शाक्य, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र अनेरास्ववियुका पूर्वअध्यक्ष सुजन कडरिया पनि महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन्।

त्यसैगरी, अनेमसंघ केन्द्रीय कमिटी सदस्य डोल्मा तामाङ, वित्त विभागका लोकबहादुर भण्डारी, अनेमसंघकी बिजुला रायमाझी तथा अखिल नेपाल किसान महासंघका नेता भेषराज अधिकारी पनि सूचीमा परेका छन्। काभ्रे जिल्ला एमाले सचिव राजकुमार सापकोटालाई समेत महाधिवेशन प्रतिनिधिका रूपमा मनोनयन गरिएको छ।

एमालेले मनोनयनमार्फत समेटिएका प्रतिनिधिहरू पार्टी संगठन, जनवर्गीय संगठन, विभागीय संरचना र स्थानीय तहमा सक्रिय भूमिकामा रहेका व्यक्तिहरू भएको जनाएको छ। पार्टी नेतृत्वका अनुसार समावेशीता र संगठनात्मक सन्तुलनलाई ध्यानमा राखेर प्रतिनिधि चयन गरिएको हो।

आजदेखि सुरु हुने एमाले महाधिवेशनले पार्टीको आगामी नेतृत्व, नीति तथा कार्यक्रम तय गर्ने भएकाले मनोनित प्रतिनिधिहरूको भूमिकालाई महत्वपूर्ण मानिएको छ। महाधिवेशनमा नेतृत्व चयनसहित संगठन सुदृढीकरणका विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २७, शनिबार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको