महाधिवेशन मनोनीत प्रतिनिधिको सूचीमा ईश्वर पोखरेलको असन्तुष्टि



काठमाडौं, मंसिर २७। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनयनमार्फत चयन गरिएका १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीलाई लिएर पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असन्तुष्टि जनाएका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच सहमतिमा सूची तयार गर्ने समझदारी भए पनि त्यसविपरीत एकलौटी रूपमा सूची सार्वजनिक गरिएको पोखरेल पक्षको आरोप छ।

पोखरेल निकट नेताहरूका अनुसार शुक्रबार बसेको सचिवालय बैठकमा मनोनीत प्रतिनिधिको नाम अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बसेर अन्तिम टुंगो लगाउने सहमति भएको थियो। सोही सहमतिअनुसार शनिबार बिहान दुवै नेताबीच छलफल गरेर साझा सूची सार्वजनिक गरिने समझदारी बनेको दाबी गरिएको छ।

तर सहमतिविपरीत अध्यक्ष ओलीले प्रस्ताव गरेको सूची मात्रै सार्वजनिक भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेल असन्तुष्ट बनेका हुन्। पोखरेल पक्षका एक नेताका अनुसार अध्यक्ष ओलीले शुक्रबार सचिवालय बैठकमा प्रस्तुत गरेको सूची नै शनिबार बिहान जस्ताको तस्तै सार्वजनिक गरिएको हो। “अध्यक्ष कमरेड र वरिष्ठ उपाध्यक्षबीच दुवै पक्षका नाम समेटेर सहमति खोज्ने निर्णय भएको थियो,” ती नेताले भने, “तर आज सार्वजनिक सूची अध्यक्षले हिजो टेबल गर्नुभएको सूची मात्रै हो।”

पोखरेलले आफ्नो समूहको तर्फबाट अलग सूची प्रस्तुत गरिसकेको भए पनि त्यसलाई बेवास्ता गर्दै एकलौटी ढंगले मनोनयन सार्वजनिक गरिएको उनको गुनासो छ। यस घटनाले पार्टीभित्र नेतृत्व तहमा असन्तुष्टि र मतभेद थप चर्किन सक्ने संकेत देखिएको छ।

शनिबार बिहान सार्वजनिक सूचीमा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिम्सिना, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, साथै काठमाडौं, ललितपुर र भक्तपुरका पार्टी अध्यक्षलगायतका नाम समावेश छन्।

आजदेखि भक्तपुरको सल्लाघारीमा सुरु भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको बेला मनोनयन सूचीलाई लिएर देखिएको असन्तुष्टिले महाधिवेशनको वातावरणमा समेत प्रभाव पार्ने आकलन गरिएको छ। पार्टीभित्र सहमति र एकताको सन्देश दिनुपर्ने समयमा नेतृत्वबीच देखिएको असहमति राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २७, शनिबार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको