एमाले महाधिवेशनस्थलमा कडा सुरक्षा व्यवस्था



काठमाडौं, मंसिर २७ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुने कार्यक्रम रहेको छ। देशभरबाट हजारौँ नेता, कार्यकर्ता तथा प्रतिनिधि सहभागी हुने अपेक्षासहित महाधिवेशनस्थल र वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

प्रहरी प्रशासनले महाधिवेशनलाई लक्षित गर्दै सुरक्षा सतर्कता उच्च बनाएको छ। महाधिवेशनस्थल प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई लाइन लगाएर गेटमै सुरक्षा जाँच भइरहेको छ। मेटल डिटेक्टर, ह्यान्डहेल्ड स्क्यानर प्रयोग गरी प्रवेश अनुमति दिइएको छ भने परिचयपत्र अनिवार्य गरिएको छ।

सल्लाघारी क्षेत्रभित्र र आसपास ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिएको छ। भीड नियन्त्रण, सवारी व्यवस्थापन र आकस्मिक अवस्थालाई ध्यानमा राख्दै सुरक्षा योजना तयार गरिएको प्रहरी स्रोतले जनाएको छ। शान्ति सुरक्षा कायम राख्न सादा पोसाकमा समेत सुरक्षाकर्मी खटाइएको छ।

महाधिवेशन अवधिभर भक्तपुर, काठमाडौं र ललितपुरका प्रमुख सडक खण्डमा सवारी चाप बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। महाधिवेशन स्थल नजिक पार्किङ व्यवस्थापनलाई पनि व्यवस्थित बनाइएको छ।

आजदेखि सुरु हुने महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ। यस महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन, नीति तथा कार्यक्रम तय हुने भएकाले यसलाई एमालेका लागि महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ। सुरक्षा निकायले महाधिवेशन शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २८, शनिवार ११:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको