काठमाडौं, मंसिर २७ । नेकपा(एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले प्रतिनिधि मनोनयन गर्ने निर्णय गर्दै आज त्यसको सूची सार्वजनिक गरेको हो।
सूची तयार गर्ने प्रक्रियामा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सहमतिमा नाम छनोट हुने भनिएको थियो। तर सूची सार्वजनिक भएपछि केही असन्तुष्टिहरू पनि देखा परेका छन्।
सचिवालय बैठकले निर्णयअनुसार, महाधिवेशनमा निर्वाचित भएर आउने प्रतिनिधिहरू र पदेन आयोजकको हैसियतमा आउने प्रतिनिधिहरूको ५ प्रतिशत सदस्य मनोनयन गर्न सकिने व्यवस्था मिलाइएको थियो। यसअन्तर्गत पार्टी नेतृत्वले विभिन्न विभाग, संगठन र स्थानीय तहमा सक्रिय रहेकाहरूलाई मनोनित गरेको बताइएको छ।
यस सूचीमा राष्ट्रिय सभाका पूर्वअध्यक्ष, उपत्यकाका जिल्ला अध्यक्ष, पार्टीका विभागीय नेताहरू र विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरू समावेश छन्। आजदेखि सुरु भएको महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको छ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने तय भएको छ।
एमाले महाधिवेशनमा प्रतिनिधिहरूको भूमिका पार्टीको नयाँ नेतृत्व चयन, नीति तथा कार्यक्रम तय गर्नमा महत्वपूर्ण हुने भएकाले मनोनयन सूचीलाई राजनीतिक दृष्टिले संवेदनशील मानिएको छ।




