एमाले रुपन्देहीका सचिव कार्कीले छाडे पार्टी, आइतबार रास्वपा प्रवेश गर्ने



बुटवल, मंसिर २७ । नेकपा(एमाले) रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोज्ने भएका छन्। कार्की लामो समयसम्म एमाले उपाध्यक्ष विष्णु पौडेलका स्वकीय सचिव भएर पार्टीमा सक्रिय थिए र लोकप्रिय नेताको रूपमा चिनिन्थे।

भदौ २३–२४ को जेन–जी आन्दोलनमा सरकारले अनावश्यक दमन गरी युवा विद्यार्थीको हत्या गरेपछि कार्कीले तत्कालै एमाले छाड्ने घोषणा गरेका थिए। त्यसयता उनी पार्टीमा सक्रिय भएनन्।

रास्वपा रुपन्देहीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले र अन्य शीर्ष नेतासँग संवाद र छलफलपछि कार्कीले रास्वपा रोजेको बताए। रास्वपा रुपन्देहीका नेता सुदन ज्ञवालीका अनुसार आइतबार सैनामैना नगरपालिकामा कार्कीको वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गरिनेछ। “उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरू कार्कीलाई पार्टीमा स्वागत गर्न रुपन्देही आउँदै हुनुहुन्छ,” ज्ञवालीले बताए।

कार्कीले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार, परिवारवाद र सुशासनका पक्षमा विद्यार्थीले गरेको विद्रोहलाई तत्कालीन सरकारको दमन, मानव ज्यान गुम्नु र नैतिक जिम्मेवारी नलिनुलाई कारण बनाएर पार्टी छाडेको स्पष्ट पारे। उनले भने, “राजनीतिक व्यक्तिको रूपमा मुलुक निर्माणमा योगदान गर्न रास्वपा रोजेको हुँ।”

पूर्व नगर प्रमुख हुँदा कार्कीले रुपन्देहीमा फोहोर व्यवस्थापन, सार्वजनिक यातायात, नगर चक्रपथ, बेघरलाई आवास, सरकारी विद्यालयमा कम्प्युटर शिक्षा जस्ता नमूना परियोजना अगाडि बढाएका थिए।

२०७९ को निर्वाचनमा विष्णु पौडेलको जितमा कार्कीको भूमिका महत्वपूर्ण भएको थियो। उनका पार्टी परित्यागले रुपन्देही २ मा पौडेलको राजनीतिक स्थिति कमजोर हुने विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति: २०८२ मंसिर २८, शनिवार १४:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको