काभ्रेपलाञ्चोक,मंसिर २८ । स्थानीयवासीको अवरोधका कारण मंसिर २० गतेदेखि बन्द रहेको अरनिको राजमार्ग शनिबार बेलुकादेखि सञ्चालनमा आएको छ । कोदारीस्थित ‘इको पहिरो’ क्षेत्रमा बस्ती जोखिममा परेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेपछि नाका हुँदै हुने सवारी आवागमन पूर्णरूपमा ठप्प भएको थियो ।
बाढी र पहिरोको जोखिम बढ्दै जाँदा पनि दीर्घकालीन समाधान नखोजिएको आरोप लगाउँदै स्थानीयले सडक सञ्चालनमा रोक लगाएका थिए । गत असोज २ गते स्थानीयवासी, सडक विभाग, सडक डिभिजन कार्यालय चरिकोटलगायत सरोकारवालाबीच कात्तिक महिनामै राजमार्ग निर्माण र पहिरो नियन्त्रणका लागि टेन्डर निकाल्ने सहमति भएको थियो । तर सहमतिअनुसार समयमै प्रक्रिया अघि नबढेपछि स्थानीय आन्दोलित बनेका थिए ।
शुक्रबार दिउँसो स्थानीय र सडक डिभिजन कार्यालय चरिकोटबीच भएको वार्ता असफल भएपछि तनाव बढेको थियो । वार्ता असफल भएलगत्तै सडक डिभिजन कार्यालयले ४८ करोड ४९ लाख रुपैयाँ लागतको टेन्डर आह्वान गरेको छ । कार्यालयका अनुसार टेन्डर प्रक्रियाका लागि ३५ दिन समय लाग्ने र त्यसपछि मात्रै निर्माण कार्य सुरु हुनेछ ।
टेन्डर आह्वानको सूचना प्रकाशित भएपछि शनिबार स्थानीय पालिका, स्थानीयवासी तथा विभिन्न यातायात व्यवसायीका प्रतिनिधिबीच छलफल भएको थियो । छलफलपछि स्थानीय आफैंले राजमार्ग खोलिदिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगत राईले जानकारी दिए ।
यद्यपि स्थानीयले अबको ६० दिनभित्र सडक निर्माण कार्य सुरु नगरे पुनः इको पहिरो क्षेत्रमा सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । राजमार्ग खुलेसँगै सीमा क्षेत्रमा रोकिएका कन्टेनर र विद्युतीय सवारीसाधन भन्सार यार्डतर्फ जान थालेका छन् । सडक बन्द हुँदा फलफूललगायत सामग्री कुहिएर ठूलो क्षति भएको व्यवसायीहरूले बताएका छन् ।
स्थानीयका अनुसार गुम्बाडाँडा, मिलन बजार, लालबिर चोक, चौकीडाँडा, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमारलगायत क्षेत्र पहिरोको उच्च जोखिममा छन् । उनीहरूले दीर्घकालीन र दिगो समाधानसहित तत्काल निर्माण कार्य सुरु गर्न सरकारसँग माग गरेका छन् ।




