बजेट अभावले हुलाकी राजमार्ग का १८ पुलको ठेक्का प्रक्रिया अलपत्र



जनकपुरधाम, मंसिर २८ । हुलाकी राजमार्ग अन्तर्गत विभिन्न सडकखण्ड बनेर यातायात सञ्चालन भइरहेका छन्, तर १८ वटा पुलको ठेक्का प्रक्रिया बजेट अभावका कारण अलपत्र परेको छ। यसको असर सडक सञ्चालन र स्थानीय आर्थिक गतिविधिमा परेको छ।

हुलाकी सडक योजना कार्यालय, जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार करिब ३ करोड रुपैयाँ लागत अनुमानसहित १८ पुलको विवरण बारम्बार अर्थ मन्त्रालयमा पठाइए पनि बजेट स्वीकृति नहुँदा ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन। “हामीले तीन वर्षदेखि सबै कागजात र प्राविधिक विवरण तयार गरी पठाएका छौँ, तर आवश्यक बजेट नआउँदा आयोजना अलपत्र अवस्थामा छ,” महतोले बताए।

ठेक्का लाग्न बाँकी रहेका पुलमा कमला–बलान सडकखण्डको मैनावती पुल, जोगियारा नदी, बाछाराजा नदी र गरदनिया चोकका पुल, यदुकुहा–खजुरी–महुवा सडकका सरावे आमा हण्डा पुल, पर्सा बिग्घी खोला, रातसखोला, जंघा खोला, मरहा खोला, गेरूका नदी, जंघा खोला र बिघी खोला पुल, लखनदेही र गदहिया पुल, हरकठुवा र धनकौल पुल तथा एकादशी पुल पर्दछन्।

हालसम्म हुलाकी राजमार्गका २२ पुल निर्माण भई सञ्चालनमा छन् भने २१ पुल निर्माणकै चरणमा छन्। पुल निर्माणमा ढिलाइ हुँदा वर्षायाममा खोलानालाबाट आवतजावत कठिन भई गाउँहरू टापुजस्तो बन्ने समस्या देखिएको छ। स्थानीय रामपुकार महतोले भने, “सडक बने पनि पुल नहुँदा त्यसको कुनै अर्थ छैन। हामी वर्षौंदेखि पुलको आशा गर्दै आएका छौँ।”

हुलाकी सडक आयोजना अन्तर्गत कुल ४०३।६८ किलोमिटर सडकको जिम्मेवारी छ। यसमा २९९।८० किलोमिटर नेपाल सरकारको बजेट र १०३।८८ किलोमिटर भारतीय अनुदानबाट बनेको छ। हालसम्म ३४२।६८ किलोमिटर सडक कालोपत्र भइसकेको छ।

चालु आर्थिक वर्षमा बाँकी सडक र पुल पूरा गर्न करिब डेढ अर्ब रुपैयाँ बजेट आवश्यक छ, तर सरकारले ५९ करोड ९० लाख मात्र विनियोजन गरेकोले काममा गति लिन सकेको छैन। महतोका अनुसार, “बजेट सुनिश्चित भएमा बाँकी पुल र सडक छिट्टै सम्पन्न गर्न सकिन्छ।”

हुलाकी राजमार्ग तराई–मधेस क्षेत्रको आर्थिक मेरुदण्ड मानिन्छ। पुल र सडक निर्माण नहुनु आर्थिक विकास, कृषि उत्पादन बजार पहुँच र क्षेत्रीय व्यापारमा प्रतिकूल प्रभाव पारिरहेको छ।

प्रकाशित मिति: २०८२ मंसिर २९, आइतवार १४:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको