काठमाडौं, मंसिर २८ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा श्रीवास्तवलाई छातीमा तीव्र दुखाइ भएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी ग्रान्डी इन्टरनेसनल अस्पताल लगिएको थियो ।
चिकित्सकका अनुसार दिउँसो करिब १ः३० बजे छाती दुखाइ सुरु भएको थियो । उद्धारपछि उनलाई अपराह्न ४ बजे अस्पताल पुर्याइएको थियो । प्रारम्भिक उपचार तथा थप परीक्षणपछि उनलाई हृदयघात भएको पुष्टि भएको चिकित्सकले बताएका छन् । मुटुको देब्रे नशामा अवरोध देखिएको थियो ।
अवस्था गम्भीर भएपछि तत्काल मुटुको एन्जियोग्राफी गरी अवरुद्ध नशामा स्टेन्ट राखेर रक्तप्रवाह सुचारु गरिएको अस्पतालले जनाएको छ । ‘उहाँ होसमा नै अस्पताल आइपुग्नुभएको थियो । प्रारम्भिक परीक्षणमा हृदयघात देखिएपछि स्टेन्ट राखेर ब्लक भएको नशा खोलेका हौं,’ उपचारमा संलग्न चिकित्सकले भने ।
हाल राजदूत श्रीवास्तव आईसीयूमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख छ र केही दिन आईसीयूमा निगरानीमा राखिनेछ । टुका अन्य केही नशामा पनि आंशिक अवरोध देखिएको र आवश्यकताअनुसार पछि थप उपचार गरिने चिकित्सकले जानकारी दिए । ‘जुन नशा ब्लक हुँदा हिजो समस्या देखिएको थियो, त्यो नशा खोलिसकेका छौं । अन्य नशामा पनि अवरोध छ, त्यसको उपचार चरणबद्ध रूपमा गरिन्छ,’ चिकित्सकले भने ।
स्वास्थ्य अवस्था थप सुधार भएपछि उनलाई सामान्य वार्डमा सार्ने तयारी रहेको अस्पतालले जनाएको छ ।




