काठमाडौं ,मंसिर २८ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र जारी रहँदा भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा उनले अब कुनै पनि सक्रिय राजनीतिक जिम्मेवारी नलिने स्पष्ट पारेका हुन् ।
विधानमा उल्लेखित ७० वर्षे उमेरहदको अभ्यासलाई आधार बनाउँदै ज्ञवालीले पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिनुपर्ने समय आएको बताएका छन् । उनले आफू अब पार्टीको कुनै पदमा सक्रिय नहुने र अनुभव तथा सुझावमार्फत मात्र योगदान गर्ने संकेत गरेका छन् ।
एमालेको ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ । यसै सन्दर्भमा वरिष्ठ नेताहरूले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्नु पार्टीभित्र पुस्तान्तरणको संकेतका रूपमा हेरिएको छ ।
यसअघि पनि यही महाधिवेशनकै क्रममा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री दलबहादुर रानाले शनिबार सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका थिए । लगातार दुई वरिष्ठ नेताले विश्रामको घोषणा गरेपछि एमालेभित्र नेतृत्व हस्तान्तरण र संगठन पुनर्संरचनाबारे बहस चर्किएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार विधानअनुसारको उमेरहदको पालना र स्वेच्छिक विश्रामले पार्टीमा नयाँ नेतृत्व उदाउने वातावरण बन्ने अपेक्षा गरिएको छ । महाधिवेशनले एमालेको भावी नेतृत्व, कार्यदिशा र राजनीतिक रणनीति तय गर्ने भएकाले यी घोषणाहरूलाई विशेष अर्थका साथ हेरिएको छ ।




