काठमाडौं , मंसिर २९ । नेपाली कांग्रेसले वितरण गरेको नयाँ क्रियाशील सदस्यता फाराममा क्रम संख्या उल्लेख नभएपछि पार्टीभित्र विवाद र अन्योल सुरु भएको छ । महामन्त्री गगनकुमार थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रम संख्या नराखिएका फारामहरू तहगत रूपमा स्थानीय तहमा पठाएपछि विवाद चर्किएको हो ।
क्रम संख्या र सदस्यता नम्बर नहुँदा फाराम भर्ने कि नभरिने भन्ने विषयमा स्थानीय तहसम्म अन्योल देखिएको छ । यस विषयमा छलफल गर्न क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बसिरहेको समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले बताएका छन् । उनले नयाँ फाराममा क्रम संख्या नहुनुलाई ठूलो विवादको विषय नबनाउन आग्रह गरेका छन् ।
‘प्रविधिको जमानामा आन्तरिक सहमतिको आधारमा तुरुन्तै समाधान निकाल्न सकिन्छ । यसलाई अनावश्यक रूपमा ठूलो बनाउनु हुँदैन,’ उनले भने, ‘काम चलिरहेको छ र हामी यही विषयमा छलफलमा छौँ ।’
केन्द्रबाट क्रम संख्याबिनाका फाराम स्थानीय तहमा पुगेपछि अब केन्द्रमै क्रम संख्या राख्ने कि नयाँ फाराम पुनः वितरण गर्ने भन्ने विषयमा समितिले निर्णय गर्नेछ । कांग्रेस नुवाकोट सूर्यगढीका सभापति शंकर प्याकुरेलले जिल्ला र केन्द्रसँग समन्वय गरेर फाराम भर्ने–नभरिने विषय टुंग्याइने बताएका छन् ।
नेपाली कांग्रेसले विधानबमोजिम योग्यता पुगेका सबैलाई सहज रूपमा क्रियाशील सदस्यता दिने निर्णय गरिसकेको छ । योग्यता पुगेका कसैलाई पनि सदस्यताबाट वञ्चित नगरिने पार्टीको स्पष्ट नीति रहेको छ ।
नयाँ क्रियाशील सदस्यता वितरण गर्दा वडाको जनसंख्याको आधारमा महिला, आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू, मुस्लिम, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिहरूको समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।
त्यसैगरी, केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १८ देखि ३० वर्ष उमेर समूहका युवालाई प्राथमिकता दिँदै क्रियाशील सदस्यता वितरण गरिनेछ । विभिन्न पेशागत क्षेत्रका बौद्धिक वर्ग र सामाजिक कार्यमा सक्रिय व्यक्तिहरूलाई समेत प्राथमिकता दिने नीति छ । साथै, अन्य राष्ट्रिय दल परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूलाई सोझै क्रियाशील सदस्यता दिने व्यवस्था गरिएको छ ।




