काठमाडौं, मंसिर २९ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ सोमबार हुने भएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो । उक्त मुद्दा इजलासको कार्यसूचीमा तेस्रो नम्बरमा राखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकको साँगामा रहेको हदबन्दी छुट जग्गा खरिद गर्न अनुमति दिने र पछि बिक्रीसमेत गर्न दिएको आरोप उनीमाथि लगाइएको छ ।
अभियोगअनुसार २०६६ माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले पतञ्जली योगपीठलाई ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न स्वीकृति दिएको थियो । त्यसैगरी, २०६६ चैत ६ गते मन्त्रिपरिषद् बैठकले सोही हदबन्दी छुटमा खरिद गरिएको जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयपछि सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानपछि अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो ।
यसअघि प्रारम्भिक सुनुवाइपछि विशेष अदालतले असार ११ गते नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सोमबार हुने सुनुवाइमा मुद्दाको थप प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।






