जनकपुरधाम, मंसिर २९ । जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा हाल दैनिक करिब एक सय जनाको आँखासम्बन्धी शल्यक्रिया हुने गरेको छ । अस्पतालमा विशेषगरी मोतियाबिन्दु(क्याटार्याक्ट) का बिरामीहरूको संख्या बढी रहेको चिकित्सकहरूले बताएका छन् ।
चिकित्सक तथा प्राविधिक जनशक्तिको अभाव रहे पनि उपलब्ध जनशक्तिले दिनहुँ सयौँ बिरामीको शल्यक्रिया गरिरहेको अस्पतालले जनाएको छ । विभिन्न समयमा व्यवस्थापन र आन्तरिक विवादका कारण चर्चामा आएको जानकी आँखा अस्पतालमा अहिले पनि नेपाल र भारत दुवै देशका बिरामीहरूले उपचार सेवा लिइरहेका छन् ।
अस्पतालबाट धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका बिरामीहरू लाभान्वित हुँदै आएका छन् । साथै भारतको सीमावर्ती जिल्ला सितामढी र मधुवनीबाट पनि वार्षिक हजारौँ आँखा रोगीहरू उपचारका लागि जानकी आँखा अस्पताल पुग्ने गरेका छन् ।
जानकी आँखा अस्पतालका चिकित्सक डा। अमितकुमार यादवका अनुसार अहिले दैनिक रूपमा करिब एक सय जनाको मोतियाबिन्दुसहित अन्य आँखा रोगको शल्यक्रिया भइरहेको छ । “हामी दिनहुँ सय जनाको हाराहारीमा मोतियाबिन्दुको शल्यक्रिया गरिरहेका छौँ,” उनले बताए ।
अस्पतालको व्यवस्थापनमा केही कमजोरीहरू देखिए पनि कर्मचारी र चिकित्सकहरूको लगनशीलताका कारण अस्पतालप्रति आम नागरिकको भरोसा क्रमशः पुनः बढ्दै गएको स्थानीयहरूको भनाइ छ । तर, विभिन्न समयमा कर्मचारी र व्यवस्थापन पक्षबीच देखिने तानातानीका कारण सेवा प्रभावित हुने र समस्या समाधानका नाममा अस्पताल बन्द गर्नुपर्दा बिरामीहरू अन्यत्र जान बाध्य हुने अवस्था पनि आएको छ ।
यसले गर्दा जनकपुरधामबासीले अस्पतालका आन्तरिक समस्या आपसी समझदारीमै समाधान गर्न आग्रह गरेका छन् । अस्पतालप्रति जनताको विश्वास कायम राख्दै निरन्तर र सहज सेवा प्रवाह गर्नुपर्ने उनीहरूको जोड छ ।




