काठमाडौं , मंसिर २९ । नेकपा(एमाले)को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल पक्ष प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । प्यानल निर्माणसँगै पदाधिकारी तहमा नयाँ–पुराना अनुहारबीच प्रतिस्पर्धा देखिएको छ ।
यसैबीच, एमाले फर्किएपछि पदाधिकारी बन्ने चर्चा चलेकी नेतृ रामकुमारी झाँक्री भने केन्द्रीय सदस्यको प्रतिस्पर्धामै सीमित भएकी छन् । अध्यक्ष ओली पक्षले तयार पारेको पदाधिकारी तथा केन्द्रीय समिति सदस्यको उम्मेदवार सूचीमा झाँक्रीको नाम पदाधिकारीमा समेटिएको छैन ।
नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)ले तत्कालीन नेकपा माओवादी केन्द्रसँग एकता गर्ने प्रक्रिया अघि बढाउँदा असन्तुष्टि जनाउँदै झाँक्री चार वर्षपछि एमाले फर्किएकी थिइन् । एमाले फर्किएपछि उनी ओली पक्षबाट पदाधिकारीमा आउन सक्ने अनुमान गरिएको थियो ।
बन्दसत्रको दोस्रो दिन झाँक्रीले अध्यक्ष र महासचिव बाहेक अन्य कुनै पनि पदाधिकारी पदमा उम्मेदवारी दिनसक्ने बताएकी थिइन् । उनले आफू जिम्मेवारी वहन गर्न सक्षम रहेको दाबी गर्दै खुला प्रतिस्पर्धामा जान तयार रहेको जनाएकी थिइन् । तर अन्ततः ओली पक्षको सूचीमा उनी केन्द्रीय सदस्यका रूपमा मात्र समेटिएकी छन् ।
झाँक्रीले भदौ २०७८ मा एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एस गठन हुँदा प्रमुख भूमिका खेलेकी थिइन् । सोही समयमा निर्वाचन आयोगमा नेपालको साथमा पुगेको उनको तस्वीर व्यापक रूपमा चर्चामा आएको थियो । त्यसबेला नेपाल समूहका अधिकांश पदाधिकारी अलग भए पनि झाँक्रीले अन्तिमसम्म नेपाललाई साथ दिएको भन्दै चर्चा भएको थियो ।
नेकपा एसमा झाँक्री सचिव बनेकी थिइन् । पछि पार्टी महाधिवेशनमा उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी उनी जयन्ती राईसँग पराजित भएकी थिइन् । उपाध्यक्षमा पराजित भएपछि पार्टीभित्र उनको भूमिकालाई लिएर असन्तुष्टि देखिएको थियो । अन्ततः नेकपा एस, माओवादी केन्द्रलगायत दल मिलेर नयाँ कम्युनिस्ट पार्टी बनाउने प्रक्रिया अघि बढेपछि झाँक्री गत २४ कात्तिकमा एमालेमा फर्किएकी हुन् ।
एमालेमा फर्किएपछि उनी ओलीको समर्थनमा सचिव बन्न सक्ने अड्कल चलाइए पनि अन्ततः उनी केन्द्रीय सदस्यको प्रतिस्पर्धामै सीमित हुन पुगेकी छन् ।




