प्रत्यक्षतर्फ पुरानै नेताहरू सिफारिस भएपछि सुजाताको असन्तुष्टि



विराटनगर , मंसिर  २९ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाएकी छन् । युवालाई अवसर दिन भन्दै आफू प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेकी कोइरालाले मोरङ क्षेत्र नम्बर–२ बाट पुरानै नेताहरूको नाम सिफारिस भएपछि गुनासो व्यक्त गरेकी हुन् ।

मोरङ–२ बाट प्रत्यक्षतर्फ डा। मीनेन्द्र रिजाल, कोशी प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह र महिला तर्फ नारायणी पण्डितको नाम सिफारिस भएको छ । रिजाल २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भइसकेका नेता हुन् । युवालाई अघि सार्ने उद्देश्यले आफूले स्थान छाडे पनि पुरानै अनुहार दोहोरिएको भन्दै कोइरालाले दुःख व्यक्त गरेकी छन् ।

‘मैले चुनाव नलड्ने घोषणा गर्दा मेरो ठाउँमा युवाहरू आउन् भन्ने चाहना थियो,’ कोइरालाले भनिन्, ‘तर दुर्भाग्यवश यहाँ युवाहरू अघि आएनन्, पुरानै नेताहरू सिफारिस भए । अब यसरी हुँदैन, युवालाई अगाडि बढाउनै पर्छ ।’

उनले मोरङ–२ मात्र होइन, मोरङका सबै छवटै निर्वाचन क्षेत्रमा पुरानै नेताहरू प्रत्यक्षतर्फ सिफारिस भएको बताइन् । क्षेत्रीय समितिले सुजाताको नाम भने समानुपातिक सूचीमा राखेर पठाएको छ । २०७९ सालको निर्वाचनमा उनी यही क्षेत्रबाट एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन् ।

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले भने युवाहरूले नै दाबेदारी प्रस्तुत नगरेको दाबी गरेका छन् । ‘युवाहरू चुनाव लड्न तयार देखिएनन्,’ उनले भने, ‘कार्यकर्ता र मतदाताको विश्वास जितेका, अलि परिपक्व नेताहरूको नाम स्वाभाविक रूपमा सिफारिस भयो ।’

उनका अनुसार मोरङ क्षेत्र नम्बर ३ र ६ बाट एकल उम्मेदवार सिफारिस गरिएको छ । क्षेत्र नम्बर ६ बाट डा। शेखर कोइराला र क्षेत्र नम्बर ३ बाट डा। सुनिल शर्माको एकल नाम सिफारिस भएको छ । अन्य क्षेत्रमा भने सहमति नजुटेकाले आकांक्षीहरूको नाम सिफारिस सूचीमा समावेश गरिएको लिम्बुले बताए ।

युवाहरू राजनीतिमा क्रमशः तयार हुँदै गएको भन्दै सभापति लिम्बुले भविष्यमा युवालाई नेतृत्वमा ल्याउने वातावरण बन्ने दाबी गरेका छन् । ‘अहिले परिस्थिति बनेको छैन, तर विस्तारै युवाहरू अघि आउँछन्,’ उनले भने, ‘अर्को चुनावसम्म धेरै सिनियर नेताहरू रिटायर हुन्छन्, तब युवाहरूका लागि ढोका खुल्छ ।’

प्रकाशित मिति: २०८२ पुष १, सोमवार १४:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको