काठमाडौँ , मंसिर २९ । नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनको निर्वाचन कार्यक्रममा संशोधन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले यसअघि प्रकाशित तालिकामा केही बदलाव गरेको जानकारी दिएको छ ।
संशोधित कार्यक्रमअनुसार पार्टीको केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन महाधिवेशनस्थलमै सञ्चालन हुनेछ ।
निर्वाचन प्रक्रियाअनुसार २९ मंसिरको बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारका लागि दरखास्त फाराम वितरण हुनेछ भने बिहान १ बजेदेखि दिउँसो ३ः३० बजेसम्म दरखास्त दर्ता हुने व्यवस्था गरिएको छ । प्रारम्भिक उम्मेदवार नामावली दिउँसो ४ बजे प्रकाशन हुनेछ र सोविरुद्ध उजुरी दिन ४ बजेदेखि ४ः३० बजेसम्म समय तोकिएको छ ।
उजुरीमाथि छानबिन र निर्णय दिउँसो ५ बजेसम्म गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहेको खण्डमा ५ बजेदेखि ६ बजेसम्म समय दिइएको छ । अन्तिम उम्मेदवार नामावली सोही दिन बेलुका ६ः३० बजेसम्म प्रकाशित गरिनेछ ।
मतदान १ पुस २०८२ मा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । मतदानपछि मतगणना सुरु हुने र परिणाम घोषणा गरिएपछि निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरी शपथ ग्रहण गराइने कार्यक्रम रहेको छ ।
केन्द्रीय निर्वाचन आयोगका सचिव डा। कुन्साङ लामाद्वारा जारी सूचनामा आवश्यक परेमा निर्वाचन कार्यक्रम फेरबदल गर्न सकिने उल्लेख गरिएको छ । आयोगले समय तालिका सार्वजनिक गरी आवश्यक हेरफेर गर्न सक्ने स्पष्ट पारेको छ ।




