काठमाडौं ,पुस १ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत दर्ता भएका उम्मेदवारमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार सर्वसम्मत निर्वाचित सदस्यहरूमा लुम्बिनी प्रदेशका लिलामणि गौतम (४० वर्ष मुनि) र महिला सदस्य गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल तथा शान्तिदेवी ढकाल रहेका छन्।
यस्तै, युवा (४० वर्ष मुनि) केन्द्रीय सदस्यमा नरेश रोकाया र सुशीलकुमार थापा, मधेश प्रदेशका ४० वर्ष मुनि सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला सदस्यमा खाजिदा खातुन सिद्धिकी, पिछडिएको क्षेत्रका महिला सदस्यमा वदमी क्वारी बुढा(वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्।
त्यसैगरी, दुई जना उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरीको निर्वाचन खारेज गरिएको छ।
महाधिवेशनमा एक उपमहासचिवसहित १४ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। उपमहासचिव पदका उम्मेदवार राजेन्द्र गौतमले पनि उम्मेदवारी फिर्ता लिएका हुन्।
एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा देशभरबाट दुई हजार २६३ जना प्रतिनिधिहरूले मतदान गर्नेछन्।
यसरी सर्वसम्मत चयन र उम्मेदवारी फिर्ता तथा खारेज प्रक्रियाले महाधिवेशनलाई व्यवस्थित ढंगले अघि बढाएको देखिन्छ।




