सप्तरी, १ पुस । नेशनल टेडिङ लि. का पूर्व महाप्रबन्धक सत्यनारायण मेहता र समाजसेवी प्रमोद यादव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
दुबै जनाले मंगलबार सप्तरीको राजविराजस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
संयोगवस दुबै जना सप्तरीको तिरहुत गाउँपालिका वासिन्दा हुन् । मेहता वडा नं. ५ लोहजरा निवासी हुन् भने यादव वडा नं. ४ डिमनका बासिन्दा हुन् ।
सो अवसरमा पूर्व महाप्रबन्धक मेहताले नेपाली काँग्रेसबाट मात्र देशको समृद्धी सम्भव भएको भन्दै पार्टीलाई अझ सशक्त बनाउन योगदान पु¥याउने उद्देश्यका साथ काँग्रेस रोजेको बताए । अर्का नवप्रवेशी यादवले नेपाली काँग्रेस सधै लोकतन्त्रको पक्षमा रहेको तथा लोकतान्त्रिक मुल्य मान्यतामा अडिक रहेकाले यही पार्टीबाट मात्र मधेश र मुलुकको कल्याण हुने बताए ।
नवप्रवेशी दुबै जनालाई जिल्ला अध्यक्ष रामदेव साह, विघठित प्रतिनिधिसभा सदस्य तथा केन्द्रिय सदस्य दिनेश कुमार यादव, पूर्व मन्त्री तेजुलाल चौधरी, संविधानसभा सदस्य रन्जित कर्ण, जिल्ला सचिव सनत मण्डल लगायतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा काँग्रेसका क्षेत्रिय सभापति भोगेन्द्र यादव, नगर सभापति आनन्द झा, नगर उपसभापति अनिल यादव, युवा नेता शम्भुलाल देव, समिर झा लगायतको उपस्थिति रहेको थियो ।




