काठमाडौं ,पुस १ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानअनुसार ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्न म्याण्डेट दिइएको उल्लेख गर्दै, निर्वाचन मिति सार्नु संविधानको भावना विपरीत हुने बताए।
नेता पुनका अनुसार फागुन २१ मा चुनाव सम्पन्न गर्नुपर्नेछ र फागुन २८ गते ६ महिनाको समयसीमा पूरा हुन्छ। “यदि चुनाव सारियो भने सरकारको औचित्य रहँदैन,” उनले भने। उनले स्पष्ट पारे कि निर्वाचन मिति सार्ने कुनै तर्क वा कानुनी आधार छैन।
पुनले भने, “चुनाव सार्नु संविधानको उल्लंघन हो। यसैले तोकिएको मितिमा निर्वाचन गरेर अघि बढ्नु नै मुलुकलाई संकटबाट निकास दिन सक्ने उपाय हो। राजनीतिक दलहरूको सहमतिमा यो सरकार गठन भएको छ, र ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने सर्तमा आएको हो।”
उनले सरकारलाई अर्थतन्त्र चलायमान बनाउने र पुँजीगत खर्च बढाउने सुझाव पनि दिएका छन्। साथै, जेन–जी आन्दोलनले प्रभावित पारेका निजी क्षेत्रका उद्योग र व्यवसायलाई राहत दिने व्यवस्था गर्न सरकारलाई सचेत गराएका छन्।
वर्षमान पुनका अनुसार, तोकिएको समयभित्र निर्वाचन सम्पन्न गरिए मुलुकमा स्थायित्व कायम रहन्छ र संविधानको मर्म अनुसार लोकतन्त्र सुनिश्चित हुन्छ।






