पोखरा ,पुस १ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) छाडेका तनहुँका मनराज गुरूङ उज्यालो नेपाल पार्टीका गण्डकी प्रदेश संयोजक बनेका छन्। भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको पार्टीले गुरूङलाई सोमबार औपचारिक रूपमा प्रदेश संयोजक तोकेको हो।
गुरूङ यसअघि नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य थिए। २०६२/६३ को जनआन्दोलनपछि माओवादी भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आबद्ध भएका उनी तनहुँको तत्कालीन फिरफिरे गाविसको पार्टी कमिटी अध्यक्ष, त्यसपछि शुक्लागण्डकी नगरपालिका कमिटी अध्यक्ष र प्रदेश कमिटी सचिव हुँदै आएका थिए।
२०७४ मा स्थानीय निर्वाचनमा शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष निर्वाचित गुरूङले गत मंसिर १६ गते नेकपा छाडेको घोषणा गरेका थिए। उनले माओवादी केन्द्रले महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेको भए पनि विभिन्न दलसँग एकता गर्ने एजेन्डाले पुराना नेताहरूको नेतृत्व कायम राख्नुपर्ने हुँदा पार्टी परित्याग गरेको बताएका थिए।
गुरूङका अनुसार, नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा उनले कुलमान घिसिङको काम गर्ने शैली मन परेर उज्यालो नेपाल पार्टीमा आबद्ध भएका हुन्। उनले भने, “पुरानो पार्टीमा असन्तुष्टि पालेर बस्नुभन्दा नयाँ पार्टीमा आबद्ध हुनु ठिक लाग्यो। कुलमान घिसिङको काम गर्ने शैलीप्रति पहिलेदेखि झुकाव थियो। अहिले उनकै पार्टीमा जोडिए।”
सैद्धान्तिक रूपमा कम्युनिस्ट भनिए पनि अहिलेका कम्युनिस्ट पार्टीहरू सिद्धान्तमा अडिग नरहेको भन्दै गुरूङले अब पार्टीको नाममा मात्र सीमित नहुने बताउँछन्।
प्रदेश संयोजक नियुक्त भएपछि गुरूङले गण्डकीका ११ जिल्ला, १८ प्रतिनिधिसभा क्षेत्र र ८५ पालिकामा तदर्थ समिति गठन गर्ने अभियान सुरु गर्ने योजना बनाएका छन्। उनले आगामी फागुन २१ मा हुने निर्वाचनको तयारीमा जुटेर जेनजी आन्दोलनको भावना अनुरूप सुशासन र विकास पुराना पार्टीबाट सम्भव नहुने बताएका छन्।
यसअघि उज्यालो नेपाल पार्टीका गण्डकी संयोजक केन्द्रीय सदस्य कुशल गुरूङ थिए। प्रदेश भेलामा मनराज गुरूङको नियुक्ति पश्चात पार्टी जिल्ला र पालिकासम्म संगठन विस्तारमा लाग्ने योजना छ।




