काठमाडौं ,पुस १ । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुँदैछ। मतदानअघि भृकुटीमण्डपमा उम्मेदवारहरू प्रतिनिधिहरूसँग भोट माग्न सक्रिय भएका छन्।
यसपटक अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन्। ओली पक्षमा महासचिव पदका आकांक्षी प्रदीप ज्ञवालीले सोमबार उपाध्यक्षको प्रस्ताव अस्वीकार गर्दै भृकुटीमण्डपबाट बाहिरिएका थिए। उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्।
ज्ञवालीले मंगलबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई केन्द्रीय सदस्य र पदाधिकारीका लागि केपी शर्मा ओलीको टिमका लागि मत मागेको जानकारी दिएका थिए।
दिउँसो उनले भृकुटीमण्डप पुगेर आफू र ओली नेतृत्वको समूहका उम्मेदवारका लागि मत माग्दै प्रतिनिधिहरूसँग घुम्दै छन्। ज्ञवाली महासचिवका उम्मेदवार शंकर पोखरेलसँगै मतदान केन्द्रमा उपस्थित भएर भोटको अपिल गरिरहेका छन्।
यसरी ज्ञवालीको सक्रियता र शंकर पोखरेलसँगको समन्वयले ओली टिमको मत संकलनमा बल पुग्ने अपेक्षा गरिएको छ।




