काठमाडौं ,पुस १ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन्। सक्रिय राजनीतिमा पुनः क्रियाशील हुने निर्णयसहित उनले राष्ट्रपतिको विज्ञ सल्लाहकार पद त्यागेका हुन्।
सेतोपाटीसँगको कुराकानीमा थापाले केही दिनअघि नै राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेको र उक्त राजीनामा स्वीकृत भइसकेको जानकारी दिए। “मैले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको हुँ, स्वीकृत पनि भइसकेको अवस्था छ,” उनले भने, “पार्टीको महाधिवेशन नजिकिँदै गएको छ, त्यसैले पार्टी राजनीतिमै सक्रिय रहने निर्णयमा पुगेँ।”
थापाले पार्टी संगठन र आन्तरिक गतिविधिमा समय दिनुपर्ने भएकाले सल्लाहकार पदबाट अलग हुने निर्णय गरेको स्पष्ट पारे। उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई मजबुत बनाउन प्रत्यक्ष भूमिकामा रहनु आवश्यक देखिएको छ।
२०७९ चैत १६ गते राष्ट्रपति पौडेलले थापालाई राजनीतिक सल्लाहकारका रूपमा नियुक्त गरेका थिए। नियुक्तिको समयमा थापा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत थिए। सल्लाहकारको भूमिकामा रहँदा उनले राष्ट्रपति कार्यालयलाई राजनीतिक सल्लाह, समन्वय तथा समग्र राजनीतिक अवस्थाबारे परामर्श दिँदै आएका थिए।
राजीनामापछि थापा पुनः पार्टी गतिविधिमा सक्रिय देखिने संकेत दिएका छन्। कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर तयारी तीव्र बन्दै गएकाले उनले संगठन सुदृढीकरण, नीति बहस र नेतृत्व चयन प्रक्रियामा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
राजनीतिक वृत्तमा थापाको राजीनामालाई सामान्य प्रशासनिक निर्णयभन्दा पनि आगामी पार्टी राजनीतिसँग जोडेर हेरिएको छ। राष्ट्रपति कार्यालयबाट अलग भए पनि उनी नेपाली राजनीतिमा सक्रिय भूमिकामा देखिने निश्चित रहेको नेताहरूको भनाइ छ।




