काठमाडौं, पुस १ । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया चलिरहँदा उनले उक्त निर्णय लिएका हुन्।
हाल नेकपा एमालेको प्रचार–प्रसार विभाग प्रमुखको जिम्मेवारीमा रहेका गौतमले केपी शर्मा ओली नेतृत्वको समूहबाट पदाधिकारीमा दाबी गरेका थिए। तर अन्तिम प्यानलमा आफ्नो नाम नपरेपछि उनले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। पार्टीभित्र सहमति र एकताको सन्देश दिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै उनले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
गौतमले अनलाइनखबरसँग कुरा गर्दै पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरूको सुझाव तथा सल्लाहलाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताए। “पार्टीको एकता र स्थायित्वलाई प्राथमिकतामा राख्दै केपी शर्मा ओली नेतृत्वको समूहलाई हार्दिकता बहुमतसहित विजयी गराउन अपिल गर्दै मैले उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिएको हुँ,” उनले भने।
उनका अनुसार अहिलेको आवश्यकता प्रतिस्पर्धाभन्दा पनि पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नु हो। महाधिवेशनमार्फत सशक्त नेतृत्व चयन गर्दै आगामी राजनीतिक चुनौती सामना गर्न एमाले सक्षम हुनुपर्ने उनले धारणा राखे।
यद्यपि, उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिए पनि गौतमको खुला केन्द्रीय सदस्य पदतर्फको उम्मेदवारी भने कायम नै रहेको छ। केन्द्रीय सदस्यका रूपमा पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा योगदान दिने आफ्नो लक्ष्य यथावत् रहेको उनले बताए।
एमाले महाधिवेशनमा उम्मेदवारी फिर्ता लिने क्रमसँगै सहमतिको प्रयास पनि तीव्र बनेको छ। नेताहरूले आन्तरिक एकता मजबुत बनाउँदै महाधिवेशनलाई सफल बनाउनेतर्फ जोड दिइरहेका छन्। राजेन्द्र गौतमको निर्णयलाई पनि पार्टी एकताको सकारात्मक संकेतका रूपमा हेरिएको छ।




