जनकपुरधाम, पुस १ ।मधेश प्रदेशसभाको दोस्रो कार्यकाल चलिरहँदा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रानी शर्मा तिवारी मधेश प्रदेशका ‘सदावहार’ मन्त्रीको सूचीमा पर्न सफल भएकी छन् ।
लोसपा अध्यक्ष महन्थ ठाकुरसँगै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित तिवारीले दोस्रो पटक मन्त्रीको सपथ लिएकी छन् । सतिस सिंहको नेतृत्वमा रहेको सरकारमा शिक्षा मन्त्री रहेकी उनी अहिले कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा पनि शिक्षा मन्त्रीकी सपथ लिएकी छन् ।
काँग्रेस नेतृत्वमा गठन भएको वर्तमान प्रदेश सरकारमा उनले पुनः शिक्षा मन्त्रीकै जिम्मेवारी पाएकी छन् । यससँगै उनी दोस्रो कार्यकालमै फरक–फरक सरकारमा निरन्तर मन्त्री बन्न सफल भएकी नेतृको रूपमा चिनिएकी छन् ।
लोसपाभित्र नयाँ अनुहारलाई सरकारमा पठाउन दबाब चलिरहेकै बेला अध्यक्ष महन्थ ठाकुरकी विश्वासपात्र मानिएकी तिवारीले ती दबाबलाई चिर्दै पुनः मन्त्री बन्न सफलता हासिल गरेकी हुन् । लगातार सरकार परिवर्तनका बीच पनि मन्त्री पदमा निरन्तरता पाउनुले मधेश प्रदेशको राजनीतिक वृत्तमा रानी शर्मा तिवारीलाई ‘सदावहार मन्त्री’को उपनाम दिलाएको छ ।
लोसपामा तिवारी बाहेक अन्य प्रदेश सभा सदस्यहरुले मौका पाएका छैनन् । पार्टी सरकारमा जाने निश्चय भएपछि तिवारी मन्त्री बन्ने दौडमा पहिलो स्थानमा हुन्छिन् । प्रदेश सभामा लोसपावाट मात्रै जयलुन राईन्, उपेन्द्र महतो लगायतका प्रदेश सभा सदस्यहरु रहे पनि पार्टीका अध्यक्षका विश्वास पात्र मानिएकी तिवारी बाहेक अरुले मौका पाउने सम्भावना विस्तारै छिन्न हु्दै गएको छ ।
मधेश प्रदेश सभामा लोसपावाट तिवारी संगै जयलुन राइन् र उपेन्द्र महतो दोस्रो पटक निर्वाचित भए पनि एक पटक मन्त्री बनाइएको छैन् । पटक–पटक विवादित हुँदै आएकी तिवारीले पार्टी अध्यक्ष ठाकुरलाई मन्त्री नबनाए पार्टी छाड्ने चेतावनी दिँदै मन्त्री पद पडकाउने गरेकी छन् ।




