कोशीका मन्त्रीदेखि सांसदसम्म एमाले महाधिवेशनमा बागी उम्मेदवार



विराटनगर ,पुस १ । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रियासँगै अध्यक्ष केपी शर्मा ओली समूहभित्र असन्तुष्टि चुलिँदा कोशी प्रदेशका मन्त्रीदेखि सांसदसम्मले केन्द्रीय सदस्यमा बागी उम्मेदवारी दिएका छन्।

ओली पक्षले सार्वजनिक गरेको आधिकारिक उम्मेदवार सूचीमा नाम नपरेपछि कोशी प्रदेशका आधा दर्जनभन्दा बढी नेताहरूले केन्द्रीय सदस्य तथा विभिन्न पदमा स्वतन्त्र ९बागी० उम्मेदवारी दर्ता गराएका हुन्। ओली समूहको केन्द्रीय सदस्य सूचीमा समावेश संखुवासभाका राजेन्द्र गौतमले उपमहासचिवमा र झापाका अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका थिए। तर उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि गौतमले आफू केन्द्रीय सदस्यकै उम्मेदवार रहेको स्पष्ट पारेका छन्।

ओली पक्षमै रहेका मोरङका लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दिएका छन् भने सुनसरीका भीमप्रसाद आचार्यले उपाध्यक्ष पदमा दाबी गरेका छन्। यस्तै ओली पक्षको सूचीमा नपरेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

कोशी प्रदेश सभाका प्रमुख सचेतक तथा ओली पक्षकै नेता संखुवासभाका विदुर लिङ्थेपले पनि खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। त्यसैगरी ओली पक्षका नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री एवं सांसद सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी र मोरङका पर्शुराम बस्नेतले पनि खुला केन्द्रीय सदस्यमा बागी उम्मेदवारी दर्ता गरेका छन्।

प्रदेश सांसद सुनसरीकी निरादेवी खनाल आचार्यले महिलातर्फ भूगोलको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्। उनी एमाले नेता भीम आचार्यकी पत्नी हुन् र उनको नाम पनि ओली पक्षको सूचीमा समावेश छैन। यसैगरी इलामका सुहाङ नेम्वाङ, पाँचथरका आइन्द्र सुन्दर नेम्वाङ, ओखलढुंगाका किशोरकुमार अधिकारी र सुनसरीकी लक्ष्मी गौतमले पनि बागी उम्मेदवारी दिएका छन्।

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसके पनि समूहगत अन्तिम सूची अझै सार्वजनिक भएको छैन। बागी उम्मेदवारी दिएका केही नेताहरूको नाम अन्तिम सूचीमा समावेश हुन सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन्। निर्वाचन आयोगका अनुसार प्राविधिक कारणले मतदान बिहानको सट्टा आज अपराह्नबाट सुरु हुने छ।

प्रकाशित मिति: २०८२ पुष २, मंगलवार १२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको