सप्तरी, पुस १ । आन्तरिक राजश्व कार्यालय पुनःस्थापनाको माग गर्दै राजविराजमा पाँचौ दिन पनि रिले अनसन जारि रहेको छ । अनसनमा ऐक्यबद्धता जनाउदै बस्नेहरुको संख्या पनि दैनिक बढ्दै गएको छ ।
जनयुद्धकालामा राजविराजबाट सिरहाको लहान सारिएको आन्तरिक राजश्व कार्यालय पुनः राजविराजमै स्थापना गर्नु पर्ने माग राख्दै गठित संघर्ष समितिको संयोजनमा गत शुक्रबारदेखी रिले अनसन सुरु भएको हो ।
रिले अनसनको पाँचौ दिन मंगलबार ऐक्यवद्धता जनाउँदै बस्नेहरुमा उद्योगी व्यवसायी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, पालिका प्रमुखका साथै मधेश प्रदेशका सांसद किरणकुमारी साह, पूर्व सिचाई मन्त्री उमेश कुमार यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता विकास तिवारीसमेत बसेका छन् ।
गत मंसिर १७ गते सरकारले देशभरीका सम्पुर्ण करदाता सेवा कार्यालय खारेज गरेको निर्णय विरुद्ध सप्तरीबासी बुद्धिजिवी राजनीति दल, पत्रकार, जेनजी युवा, विभिन्न संघ संस्था, बैंक तथा वितिय संस्था, व्यापारी, उद्योगी लगायत आन्दोलित भएका छन् ।
जनयुद्ध कालमा आन्तरिक राजश्व कार्यालय राजविराजबाट सिरहाको लहानमा सारिएको थियो । लामो सम्वादपछी बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित करदाता सेवा कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।




