भृकुटीमण्डपमा कार्यक्रम गर्न एमालेलाई आजसम्म मात्रै अनुमति



काठमाडौं ,पुस १ । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्द सत्र र मतदानका कार्यक्रम सञ्चालन गर्न काठमाडौँको भृकुटीमण्डप आजसम्मका लागि मात्र भाडामा लिएको छ। त्यसका कारण पार्टीले आजै मतदान प्रक्रिया सम्पन्न गर्नुपर्ने बाध्यता देखिएको छ।

एमाले सचिव योगेश भट्टराईले भोलि(बुधबार) भृकुटीमण्डपमा कुनै पनि कार्यक्रम गर्न अनुमति नरहेको जानकारी दिए। उनले भने, ‘आज निर्धारित समयमा मतदान सुरु हुन सकेन। अब राति मतदान सुरु गर्ने तयारी भइरहेको छ। तर यो स्थल आजका लागि मात्र हाम्रो हो, भोलिदेखि अरू प्रयोजनका लागि प्रयोग हुनेछ। त्यसैले आजै मतदानलगायत सबै निर्वाचन प्रक्रिया सक्नुपर्ने अवस्था आएको छ।’

उनका अनुसार स्थलको समयसीमाका कारण निर्वाचन आयोगले पनि आजै सबै प्रक्रिया टुंग्याउन आग्रह गरेको छ। ढिलो गरी सुरु भए पनि रातभर मतदान सञ्चालन गरेर प्रक्रिया पूरा गर्ने तयारी गरिएको छ।

यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले पनि आजसम्मकै लागि मात्र कार्यक्रम स्थल भाडामा लिइएको पुष्टि गरे। ‘आजसम्मका लागि मात्रै भृकुटीमण्डप लिइएको हो। त्यसैले आजै रातभर निर्वाचनसम्बन्धी सबै कार्यक्रम सक्ने हाम्रो तयारी छ,’ उनले भने।

एमालेले ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न विद्युतीय भोटिङ प्रणाली प्रयोग गर्दैछ। भृकुटीमण्डपमा ८० वटा विद्युतीय भोटिङ मेसिन जडान गरिएको छ। महाधिवेशनमा २ हजार २६३ प्रतिनिधि सहभागी छन्।

कार्यक्रम स्थलको समयसीमा र मतदानमा लाग्ने समयका कारण मतदान प्रक्रिया ढिलो रातिसम्म चल्ने अनुमान गरिएको छ। मतदान सम्पन्न भएपछि मतगणना गरी अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ।

प्रकाशित मिति: २०८२ पुष २, मंगलवार १७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको