विद्युतीय भोटिङबाट एमालेको नेतृत्व चयन हुँदै



काठमाडौं, पुस १ । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ प्रणाली प्रयोग गर्दै मतदान प्रक्रिया अघि बढाएको छ। भृकुटीमण्डपमा निर्माण गरिएको निर्वाचन केन्द्रमा आवश्यक सबै प्राविधिक तयारी पूरा भइसकेको छ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाका अनुसार महाधिवेशनका लागि कुल १०० वटा विद्युतीय भोटिङ मेसिन ल्याइए पनि ८० वटा मेसिन प्रयोग गर्ने निर्णय गरिएको छ। बाँकी मेसिनहरू नमूना अभ्यास र आकस्मिक आवश्यकताका लागि राखिएको छ। मतदान स्थलमा बुथ निर्माण, मेसिन जडान र परीक्षण कार्य सम्पन्न भइसकेको आयोगले जनाएको छ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार एक जना प्रतिनिधिले मतदान गर्न औसतमा २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा देशभरबाट २ हजार २६३ प्रतिनिधि सहभागी हुँदैछन्।

यसअघि मंगलबार दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका भए पनि प्राविधिक प्रक्रिया नमिल्दा मतदान ढिलो भएको हो। उम्मेदवारको नाम मिलाउने, फोटो कोडिङ गर्ने र प्रणाली अन्तिम परीक्षण गर्ने काम चलिरहेकाले राति ८ बजेपछि मात्रै मतदान सुरु हुने जनाइएको छ।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्ना प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन्। प्यानलमा नअटाएका केही नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्। महाधिवेशनबाट १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी चयन हुनेछन्।

विद्युतीय भोटिङ प्रणालीमार्फत मतदान हुने भएकाले पारदर्शिता, छरितोपन र विश्वसनीयता सुनिश्चित हुने एमालेको विश्वास छ। मतदान सकिएपछि विद्युतीय प्रणालीकै माध्यमबाट मतगणना गरिने र अन्तिम परिणाम केही घण्टाभित्र सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति: २०८२ पुष २, मंगलवार १६:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको