काठमाडौं , पुस २ । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा चार जनाविरुद्ध ठगी मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
जिल्ला सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार मुद्दा दायर हुनेमा पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ कम्पनी र सो कम्पनीका सञ्चालक ल्हाक्पा सोनाम शेर्पा रहेका छन्। सरकारी वकील कार्यालयले चारै जनाविरुद्ध पाँच वर्ष कैद सजाय मागदाबी गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गरेको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो। अनुसन्धानमा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बहुमूल्य सरकारी जग्गा कानुनविपरीत व्यक्तिको फाइदाका लागि प्रयोग गरिएको तथा सरकारी सम्पत्तिमा हिनामिना गरिएको निष्कर्ष निकालिएको छ।
नेपाल ट्रस्टको नाममा रहेको जग्गा सार्वजनिक प्रयोजनका लागि सुरक्षित गर्नुपर्ने भए पनि नियोजित रूपमा सम्झौता र निर्णय प्रक्रियामा अनियमितता गरी निजी कम्पनीलाई लाभ पुर्याइएको अभियोग पत्रमा उल्लेख छ। यस क्रममा तत्कालीन उच्च पदस्थ कर्मचारीहरूको संलग्नता देखिएको सीआईबीको अनुसन्धानबाट खुलेको सरकारी वकील कार्यालयको भनाइ छ।
यस प्रकरणलाई राज्यको सम्पत्तिको दुरुपयोग र गम्भीर आर्थिक अपराधका रूपमा लिइएको छ। अदालतले मुद्दा दर्ता गरेसँगै अब आरोपितहरूलाई बयान, थुनछेक र प्रमाण परीक्षणको प्रक्रियामा लगिनेछ।
नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा यसअघि पनि छानबिनको माग उठ्दै आएको थियो। पछिल्लो मुद्दा दायरसँगै सार्वजनिक सम्पत्ति संरक्षण र सरकारी निकायको जवाफदेहिताबारे पुनः बहस सुरु भएको छ।




