मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने, प्रदेश सभालाई पत्राचार



जनकपुरधाम, पुस २ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृृष्णप्रसाद यादवले पुस ४ गते विश्वासको मत लिने भएका छन । मुख्यमन्त्री यादवले संविधानअनुसार विश्वासको मत लिने व्यवस्था मिलाउन मधेश प्रदेश सभालाई आज औपचारिक रूपमा पत्राचार गरेका हुन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेश सरकारबाट प्रदेश सभा सचिवालयलाई पठाइएको पत्रमा नेपालको संविधानको धारा १६५ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने उल्लेख गरिएको छ ।

पत्रअनुसार पुस ४ गते शुक्रबार दिउँसो ४ बजे प्रदेश सभाको बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गरिएको छ । सो पत्र प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ ।

मुख्यमन्त्री यादवको हस्ताक्षरसहित पठाइएको पत्रमा सभामुखमार्फत प्रदेश सभाको बैठक आह्वान गरी विश्वासको मत प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ ।

प्रदेश सभामा पछिल्लो समय राजनीतिक समीकरण परिवर्तन भएसँगै नियुक्त भएका मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन । अब पुस ४ गते बस्ने प्रदेश सभा बैठकमा मधेश प्रदेश सरकारको भविष्य तय हुने देखिएको छ ।

प्रकाशित मिति: २०८२ पुष ३, बुधवार १४:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको