जनकपुरधाममा ई–रिक्सा व्यवस्थापन कडाइ , अव्यवस्थित सञ्चालन नगर्न उपमहानगरको आग्रह



जनकपुरधाम, पुस २ । जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्सा सञ्चालनलाई व्यवस्थित बनाउन कडाइ गर्ने जनाएको छ । अव्यवस्थित ई–रिक्सा सञ्चालनका कारण नगर क्षेत्र अस्तव्यस्त भएको, सवारी दुर्घटना बढेको तथा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै उपमहानगरपालिकाले ई–रिक्सा चालक र नगरवासीलाई सहयोग गर्न आग्रह गरेको छ ।

उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा ई–रिक्सा चालकको दुर्व्यवहार, भाडा बढी उठाउने, जथाभावी पार्किङ र यात्रु चढाउने–ओराल्ने क्रममा नियम उल्लङ्घन हुने गरेको उल्लेख गरिएको छ । यसले पैदलयात्री, सर्वसाधारण लाई कठिनाई भएको भन्दै आन्तरिक र बाह्य पर्यटक, सुरक्षाकर्मी र आमनगरवासीले पटक पटक ध्यानाकर्षण गराएको उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार टेम्पो, अटो–रिक्सा तथा ई–रिक्सा जस्ता सवारी साधनको कर निर्धारण, दर्ता, अनुमति र नियमन गर्ने अधिकार स्थानीय तहलाई रहेको स्पष्ट गरिएको छ । सोही कानुनी व्यवस्थाअनुसार जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्सा दर्ता प्रक्रिया सुरु गरिसकेको पनि जनाइएको छ ।

ई–रिक्सा व्यवस्थापनलाई प्रभावकारी बनाउन यसअघि विभिन्न सरोकारवाला निकायसँग पटक–पटक छलफल र बैठक भएको उल्लेख गर्दै उपमहानगरपालिकाले नगर क्षेत्रभित्र ई–रिक्साको चाप घटाई व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको छ ।

उपमहानगरपालिकाले नगर क्षेत्रभित्र ई–रिक्सा सञ्चालन पूर्ण रूपमा रोक लगाइएको नभई नियमन र व्यवस्थापन गर्न खोजिएको स्पष्ट पारेको छ । जनकपुरधामलाई सफा, सुन्दर र व्यवस्थित बनाउन ई–रिक्सा चालक, नगरवासी तथा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उपमहानगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति: २०८२ पुष ३, बुधवार १५:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको