काठमाडौं , पुस २ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई)प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागका अनुसार पाँच महिनामा ४३८ वटा परियोजनाका लागि विदेशी लगानी स्वीकृत भएको हो।
सबैभन्दा धेरै परियोजनासहितको क्षेत्र आईसीटी (सूचना तथा सञ्चार प्रविधि) रहेको भए पनि लगानी रकमको हिसाबले कृषि तथा वनजन्य उद्योग क्षेत्र शीर्षमा देखिएको छ। कृषि तथा वनजन्य क्षेत्रमा १३ परियोजनामा करिब २२ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता भएको छ।
मङ्सिर महिनामा मात्रै ५६ वटा उद्योगमा १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको छ। यीमध्ये साना उद्योग ५४ र मझौला २ रहेका छन्। उद्योग विभागका अनुसार भदौ महिनामा सबैभन्दा बढी ३३ अर्ब ९ करोड २० लाख रुपैयाँको लगानी प्रतिबद्धता भएको थियो।
सेवा क्षेत्र र पर्यटन क्षेत्रमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। १३५ परियोजनाका लागि पर्यटन क्षेत्रमा १० अर्ब १२ करोड रुपैयाँ, सेवा क्षेत्रमा २८ परियोजनामा ३ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको तथ्याङ्कमा उल्लेख छ। आईसीटी क्षेत्रमा परियोजनाको संख्या धेरै भए पनि लगानी रकममा कृषि र पर्यटन क्षेत्र अग्रस्थानमा छन्।
त्यसैगरी, चालु पाँच महिनामा उद्योग विभागले १७८२ जना लगानीकर्ताका लागि भिसा सिफारिस गरेको छ भने साउन–मङ्सिर अवधिमा १ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ बराबरको रोयल्टी फिर्ता लैजान स्वीकृति दिएको छ।
विदेशी लगानीकर्ता हाल साना, छिटो प्रतिफल दिने र सेवा क्षेत्रमा आधारित उद्योगतर्फ आकर्षित भएको देखिन्छ। ऊर्जा र पूर्वाधार क्षेत्रमा भने नीतिगत अस्थिरता र जटिल प्रक्रियाका कारण लगानीकर्ताको आकर्षण न्यून रहेको विभागले जनाएको छ।




