ललितपुर , पुस २ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डा बनाएर काम गरिरहेको बताएकी छन्।
आज ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३–२४ मा भएको जेन–जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गर्दै आगामी फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचन समयमै सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले अहोरात्र खटेर तयारी गरिरहेको जानकारी दिइन्।
‘निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ,’ उनले भनिन्। उनले निर्वाचन कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै तहबाट सहयोग गर्न आम नागरिकसँग अपिल गरिन्। प्रधानमन्त्री कार्कीले मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक र सुशासनयुक्त मार्गमा अघि बढाउने एकमात्र विकल्प निर्वाचन नै रहेको पनि जोड दिइन्।
साथै, उनले समाजमा कुनै पनि खालका अराजकताले स्थान पाउन नहुने स्पष्ट पार्दै शान्ति खल्बल्याउने वा कानुन हातमा लिनेजस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताइन्। ‘खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। आउनुहोस्, समाजमा शान्ति कायम गरी सुशासनयुक्त राष्ट्र निर्माणमा हातेमालो गरौँ,’ उनले नागरिकसँग आह्वान गरिन्।
प्रधानमन्त्री कार्कीको यो अभिव्यक्ति वर्तमान सरकारले सुशासन र लोकतान्त्रिक निर्वाचन दुवैमा केन्द्रित रहेर कार्य गरिरहेको स्पष्ट संकेत हो। निर्वाचनको तयारीसँगै सुरक्षा, शान्ति र कानूनी व्यवस्था सुनिश्चित गर्ने जिम्मेवारीलाई प्राथमिकता दिइएको उनको भनाइले देखाएको छ।




