राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित



काठमाडौं , पुस २ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतमा हुन नसकी स्थगित भएको छ। बुधबारका लागि पेसी तोकिए पनि कारणवश सुनुवाइ हुन नसकेको हो।

लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै युवराज पौडेल (सफल) ले दुई वर्षअघि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको भन्दै उक्त निर्णय कानुनविपरीत रहेको दाबी रिटमा गरिएको छ।

महान्यायाधिवक्ता कार्यालयले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानीसम्बन्धी मुद्दा नचलाउने निर्णय गरेको थियो। त्यसअघि नै प्रहरी र सरकारी वकिल कार्यालयले पनि अनुसन्धानपछि मुद्दा नचलाउने निष्कर्ष निकालेका थिए।

रिट निवेदक पौडेलले आफू अमेरिकी नागरिक भइसकेको अवस्थामा लामिछानेले नेपाली नागरिक हुँ भनी विवरण दिएर नेपाली राहदानी लिएको दाबी गरेका छन्। उनका अनुसार यो कार्य राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कसुर हो। यस्तो अवस्थामा पनि महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण र गैरकानुनी रहेको उनको जिकिर छ।

त्यस्तै, राहदानी प्राप्त गर्ने क्रममा लामिछानेको आपराधिक मनसाय नरहेको भनी महान्यायाधिवक्ताले गरेको निष्कर्ष आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर गरिएको दाबी पनि रिटमा उल्लेख छ।

यस मुद्दामा सर्वोच्च अदालतले यसअघि विभिन्न मितिमा सुनुवाइ गर्दै आएको भए पनि अन्तिम निर्णय आउन बाँकी छ। आजको पेसी स्थगित भएसँगै अब अर्को मितिमा सुनुवाइ हुने जनाइएको छ। राजनीतिक रूपमा चासोका साथ हेरिएको यो मुद्दाको फैसला सर्वोच्च अदालतले के गर्छ भन्नेमा सर्वसाधारणको ध्यान केन्द्रित भएको छ।

प्रकाशित मिति: २०८२ पुष ३, बुधवार ११:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको