काठमाडौं, पुस २ । नेकपा एमाले को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान बुधबार बिहान साढे ९ बजेदेखि सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै प्यानलसहित आन्तरिक प्रतिस्पर्धामा उत्रिएका छन्।
मतदानका क्रममा ओली र पोखरेलले सँगै भोट हालेका मात्र नभई, कार्यकर्तासँगै भोट माग्दै पनि हिँडेका दृश्य देखिएका छन्। प्रतिस्पर्धा भए पनि हार्दिकता र सौहार्दता कायम रहेको निर्वाचन स्थल भृकुटीमण्डपको गार्डेनमा देखिएको छ।
गायिका ज्योति मगर यस निर्वाचनको आकर्षण बनेकी छन्। मंगलबार प्रतिनिधिहरूबीच भोट माग्दै गरेकी उनले बुधबार शीर्ष नेतासँग भलाकुसारी गरेको र ओलीको साउती सुन्नेसम्मको दृश्य पनि कैममा कैद भएको छ। कार्यकर्ताहरू र उम्मेदवारहरूसँग फोटो खिच्ने र सेल्फी लिने क्रममा उनलाई निकै ध्यान दिइएको छ।
निर्वाचन स्थलमा मतदान भित्र विद्युतीय प्रणालीमार्फत भइरहेको छ भने बाहिर पदाधिकारी र केन्द्रीय सदस्य उम्मेदवारका प्रतिनिधिहरू पर्चा, पम्प्लेट, पोस्टर र कटआउटसहित भोट माग्न व्यस्त छन्। भृकुटीमण्डप परिसरमा घाम ताप्दै बदाम र सुन्तला खानेहरूको भीड समेत देखिएको छ।
यस महाधिवेशनमा ७ सय बढी उम्मेदवार पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको प्रतिस्पर्धामा छन्। कुल २,२६३ मतदातामध्ये दिउँसो दुई बजेसम्म करिब सात सय मतदाता मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ।
मतदान सम्पन्न भएको ३ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको निर्वाचनले एमाले नेतृत्वमा नयाँ रूप र दिशा तय गर्नेछ।
यो महाधिवेशनले पार्टी आन्तरिक लोकतन्त्र, प्रतिस्पर्धा र कार्यकर्तासँगको घनिष्ठ सम्बन्धलाई पनि प्रस्ट रूपमा देखाएको छ।




