काठमाडौं ,पुस २ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन्।
बुधबार जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा चौधरीले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। अध्यक्ष यादवले उनलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरे।
पार्टी प्रवेशपछि सम्बोधन गर्दै भरत चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रूपमा अगाडि बढाउन जसपा नेपाल उपयुक्त राजनीतिक शक्ति भएको बताए।
उनले भने, “मधेशी जनताको अधिकार, संघीयता र समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै अघि बढ्ने निर्णय गरेको हुँ।”
जसपा नेपालका नेताहरूले चौधरीको प्रवेशले मधेश प्रदेशमा पार्टीको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार अनुभवी, प्रभावशाली र जनआधार भएका नेताको आगमनले पार्टीलाई नयाँ ऊर्जा प्राप्त हुने र आगामी राजनीतिक गतिविधि तथा निर्वाचनमा सकारात्मक प्रभाव पर्नेछ।
कार्यक्रममा जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, सर्लाही जिल्ला अध्यक्ष रणधिर यादव, केन्द्रीय सदस्य पेशल ढकाल, कविलासी नगरपालिकाका पूर्वमेयर कौशल किशोर यादव, बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन रायलगायत पार्टीका विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राजनीतिक वृत्तमा जनमत पार्टीबाट जसपा नेपालमा भरत चौधरीको प्रवेशलाई मधेश केन्द्रित राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। यसले मधेश प्रदेशको राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने विश्लेषण गरिएको छ।






