जनकपुरधाम, पुस २ । मधेश प्रदेशसभाको नयाँ सभामुख चयन गर्न आज प्रदेशसभाको बैठक बस्न लागेको छ । तत्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त भएको झण्डै एक महिनापछि मधेश प्रदेश सभाले नयाँ सभामुख चयनका लागि प्रक्रिया सुरु गर्न लागेको हो ।
आज बस्न लागेको प्रदेशसभाको बैठकबाट नयाँ सभामुख चयनको लागि निर्वाचन प्रक्रिया शुरु हुने जनता समाजवादी पार्टी नेपालका सचेतक रामअशिष यादवले जनाएका छन । सभामुख चयनको प्रक्रिया बारे छलफल गर्न उपसभामुख बबिताकुमारी राउत ईशरले आज बिहान ११ बजे सर्वदलीय बैठक बोलाएकी छन । सभामुख पद एक महिनादेखि रिक्त रहेकाले नयाँ सभामुख चयनको निर्वाचन मिति र प्रक्रिया तथा प्रदेश सभाको नियमित बैठक सञ्चालनका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।
पदीय अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि तत्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त भए लगतै नयाँ सभामुख जनता समाजवादी पार्टी नेपालले पाउने सहमति दलहरुले गरि सकेका छन । तर जसपा नेपाल भित्र सभामुखमा कसलाई पठाउने भने सहमति हुन नसक्दा सभामुख चयनको प्रक्रिया लम्बिदै गएको थियो ।
जसपाले सभामुखमा कसलाई पठाउने विषयमा अझै निर्णय गर्न नसकेको भएपनि निर्वाचनको प्रक्रिया तय भए लगतै जसपाले निर्णय गर्ने जसपा स्रोतले जनाएको छ ।
सभामुख चयनको प्रक्रिया शुरु भए लगतै मधेश प्रदेशको राजनीति पुनः एक पटक तरंगित हुने अनुमान गरिएको छ ।
तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलको विश्वासको मत लिने बैठकमा सभामुखले पदिय आचरण विपरित कार्य गरेको भन्दै विपक्षी दलहरुले उनि विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएउदै दुई तिहाई भन्दा बढी मतले पदमुक्त गराएका थिए ।






