काठमाडौं, पुस २ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदानको तयारी पूरा भएको छ । मतदान विद्युतीय मेसिनमार्फत गरिँदैछ ।
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण आज बिहानका लागि सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुरु हुने सूचना पाएपछि प्रतिनिधिहरू मतदानस्थलमा लाइनमा बसेका छन् ।
विद्युतीय मेसिनहरू मतदानका लागि पूर्ण रूपमा तयार भइसकेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए । उनका अनुसार प्राविधिक टोली मतदान सुरु गराउन तयारी अवस्थामा छ । उनले भने, “अब कुनै प्राविधिक समस्या छैन । हाम्रो तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ । निर्वाचन आयोगको निर्देशन आएलगत्तै मतदान सुरु हुन्छ।”
मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनमार्फत हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी हुँदैछन् ।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा भइरहेको छ ।




